कांग्रेसद्वारा उम्मेदवार छनोट विधि तय



नेपाल समाचारपत्र
सिन्धुली

नेपाली कांग्रेस सिन्धुलीले स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीको बैठक बसी स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन विभिन्न समिति गठन तथा उम्मेदवार छनोटका विधिहरू तय गरेको छ।

नेपाली कांग्रेसले सहमतिमा नै उम्मेदवारीको अन्तिम टुंगो जिल्ला कार्यसमितिले नै वैशाख ७ गतेभित्र लगाउने निर्णय गरेको छ। जिल्लामा रहेका सबै स्थानीय तहको निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाई उम्मेदवारलाई जिताउन पार्टीका विभिन्न समितिले सिफारिस गरी क्षेत्रीय समितिले अधिकतम सहमति गर्ने र जिल्ला कार्यसमितिले अन्तिम टुंगो लगाउने निर्णय गरेको नेपाली कांग्रेस जिल्ला सचिव दीपक घिमिरेले जानकारी दिए।
नेपाली कांग्रेसले उम्मेदवार छनोटका लागि साविकको गाविसका गाउँ कार्यसमिति र साविक नगरपालिकाको वडाका समितिबाट सम्बन्धित नगर समन्वय समितिलाई सिफारिस गर्ने र गाउँ कार्यसमितिले सम्बन्धित गाउँपालिका समन्वय समितिलाई चैत २९ गतेभित्र सिफारिस गर्ने र नगर समन्वय समिति र गाउँपालिका समन्वय समितिले सम्बन्धित क्षेत्रीय समितिलाई वैशाख २ गतेभित्र सिफारिस गर्ने निर्णय भएको सचिव घिमिरेले जानकारी दिए। क्षेत्रीय समितिले अधिकतम सहमति गर्ने र सहमति भए पनि नभए पनि वैशाख ५ गतेभित्र जिल्ला कार्यसमितिमा सिफारिस गर्ने र उम्मेदवार विवाद भएका स्थानको उम्मेदवारको हकमा जिल्ला कार्यसमितिले अन्तिम टुंगो लगाई सबै उम्मेदवारको केन्द्रमा सिफारिस ७ गतेभित्र गर्ने निर्णय गरेको छ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन जिल्ला सभापति उज्ज्वलप्रसाद बरालको संयोजकत्वमा १ हजार १ सय ११ सदस्सीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ। समितिमा सबै तहका नेता, शुभेच्छुक तथा भ्रातृ संगठनका पदाधिकारी, शिक्षक, व्यावसायी, बुद्धिजीवीलगायत सदस्य रहने निर्णय गरेको जिल्ला समिति दीपक घिमिरेले वताए। त्यस्तै जिल्ला सभापति उज्ज्वलप्रसाद बरालको संयोजकत्वमा नै निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिमा नेपाली कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे, सांसदद्वय मोहनप्रसाद बराल र दीपशिखा ढकाल, नेताहरू विपीन कोइराला, खड्ग वाइबा, प्रेमचन्द्र दाहाल, क्षेत्रीय सभापतिहरू र सबै भ्रातृ संगठनका प्रमुखहरू सदस्य रहने सचिव घिमिरेले बताए।

बैठकले नेपाली कांग्रेसको विधानमा व्यवस्था भएअनुसार प्रेमचन्द्र दाहालको संयोजकत्वमा ३ सदस्सीय अनुशासन समितिसमेत गठन गरेको छ। सदस्यहरूमा कृष्ण दाहाल र कान्ता ढकाल रहेको सचिव दीपक घिमिरेले बताए। बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा निर्वाचन लक्षित आर्थिक परिचालन तथा व्यवस्थापन समिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्