प्रधानमन्त्री शेख हसिना नयाँदिल्लीमा



नयाँदिल्ली, (एजेन्सी)

बंगलादेशका प्रधानमन्त्री शेख हसिना चार दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार भारतको राजधानी नयाँदिल्ली आइपुगेकी छिन्। उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली विमानस्थलमा स्वागत गरेका थिए।

भ्रमणका क्रममा हसिनाले भारतका समकक्षी मोदी, राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपतिलगायतका अन्य उच्च राजनीतिक व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

यसै भ्रमण दौरान भारत र बंगलादेशबीच नागरिक आणविक ऊर्जासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने पनि तयारी भएको छ।
भारत र बंगलादेशका शहरहरूबाट एकआपसमा आवतजावत गर्ने गरी बस र रेल सेवा शुरु गर्ने बारेमा पनि दुवै देशले तयारी गर्ने भएको कूटनीतिक सूत्रले पत्रकारहरूलाई जानकारी गराएको छ।

दुई देशबीचको व्यापार बढाउने बारेमा पनि विभिन्न तहमा छलफल गर्ने तयारीका साथ हसिना चार दिने भ्रमणका लागि भारत आइपुगेकी हुन्। भारत र बंगलादेश सार्कका सदस्य राष्ट्र हुन्। सन् १९७१ मा पाकिस्तानबाट टुक्रिएर बंगलादेशको जन्म भएको थियो।

प्रतिक्रिया दिनुहोस्