लागूऔषध न्यूनीकरणमा सक्रिय बन्दै स्याङ्जा प्रहरी



अमृत अर्याल, स्याङ्जा

पहाडी जिल्लाले भारतीय सिमाना जोड्ने मुलुककै पहिलो सिद्धार्थ राजमार्ग पछिल्लो समय लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ।

लागूऔषध नियन्त्रण गर्न नेपाल प्रहरीलाई अत्यन्तै सकस भइरहेका बेला स्याङ्जा प्रहरी यति बेला सक्रिय हुन थालेको छ। प्रहरीले विभिन्न समयमा लागूऔषध प्रयोगकर्ता र ओसारपसार गर्ने व्यक्ति पक्राउ गर्न सफल भए पनि लागूऔषधमा संगलग्न हुने नाइके अहिलेसम्म पक्राउ गर्न सकेको भने छैन। नेपालकै पर्यटकीय क्षेत्र पोखरालाई लागूऔषधको ट्रान्जिट प्वाइन्ट हो भन्दै आएको प्रहरीले पछिल्लो समय सिद्धार्थ राजमार्गमा सुरक्षा

गस्तीलाई प्राथमिकताका आधारमा बढाएको छ। जसका कारण एक महिनाको दौरानमा वडा प्रहरी कार्यालय वालिङले विभिन्न नामका लागूऔषध २ सयभन्दा बढीसहित युवक नियन्त्रणमा लिन सफल भएको थियो। यो प्रहरीको सफलता हो।

पक्राउ गर्न सफल भएको प्रहरीले सोमबार फेरि ठूलो मात्रामा सवारीसाधनसहित लागूऔषध र दुई जनालाई पक्राउ गरेको छ। राजमार्गमा सुरक्षा गस्ती बढाए सँगै स्याङ्जामा लागूऔषध नियन्त्रण गर्न प्रहरी सक्रिय बन्दै आएको छ। वडा प्रहरी कार्यालय वालिङमा पुसको दोस्रो साता आएका प्रहरी निरीक्षक चिनकपुर गुरुङले स्याङ्जाको मध्यभागमा रहेको सिद्धार्थ राजमार्गलाई लागूऔषधको सबैभन्दा बढी ओसारापसारको प्वाइन्टको विषयमा अनुसन्धानबाट थाहा पाएपछि सुरक्षा गस्तीलाई तीव्रता दिनुभएको थियो।

लागूऔषधको प्रयोगबाट युवाहरूमा देखिएको विकृतिलाई देखेर हामीले विशेष सुरक्षा योजना तयार गर्यौं’, प्रहरी निरीक्षक गुरुङले भन्नुभयो–हामीलाई ढुक्क छ स्याङ्जामा लागूऔषध नियन्त्रण गर्नेछौं। बेरोजगार र विपन्न भएका कारण यस्तो व्यवसायमा लाग्न युवाहरू बाध्य भएको हामीले पाएका छौं।’

प्रहरीका अनुसार कास्की पोखरा लेखनाथ महानगरपालिका–८ बस्ने वर्ष ३६ का ठिन्ले छोम्फेल र सोही ठाउँका वर्ष ३६ का तेन्जिन योन्डेनलाई २ सय ५१ थान लागूऔषधसहित पक्राउ गरेको छ। उनीहरूले भारतको सिमाना सुनौलीबाट पोखरा लैजाँदै गर्दा शंकाको आधारमा चेकजाँच गर्ने क्रममा ग१च २१५० नम्बरको मारुती भेनमा फेला पारेको प्रहरीले जनाएको छ।भेनको सिटमुनि पत्रिकाले बेरेको अवस्थामा हामीले फेला पारेका हौं’, निरीक्षक गुरुङले भन्नुभयो–खानतलासी गर्दा ठू्लो मात्रामा लागूऔषध फेला पर्यो।’

भारतबाट भित्रिने लागूऔषधमा सबैभन्दा बढी स्थानीयभन्दा बाहिरी जिल्लाका व्यक्तिको प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ। लागूऔषध पूर्णरूपले नियन्त्रण गर्नका लागि अभिभावकले सहयोग गर्न सकेमा नेपालमा यसको प्रभाव कम हुने देखिन्छ। प्रहरीले बुधबार फेरि लागूऔषधसहित एक जना युवालाई पक्राउ गरेको छ। यसका बारेमा भने अनुसन्धान भइरहेकाले केही दिनपछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्