एनएमबी माइक्रोफाइनान्सबाट साढे १२ करोड कर्जा प्रवाह



नेपाल समाचारपत्र
रसुवा

एनएमबीमाइक्रोफाइनान्स वित्तीय संस्था धुन्चे शाखाले तीन वर्षमा १२ करोड ४८ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ। शाखाका अनुसार विनाधितो तथा धितो राखेर ६ सय ९९ सदस्यलाई १२ करोड ४८ लाख पाँच हजार कर्जा प्रवाह गरेको हो।

शाखाले जिल्लाको गोसाइकुण्ड र पार्वतीकुण्ड गाउँपालिकामा रहेका सदस्यलाई ६ सय ९६ जनालाई बिनाधितो १२ करोड ३५ लाख ७० हजार र धितो राखेर तीन जनालाई १२ लाख ३० हजार कर्जा प्रवाह गरेको हो। बिहीबार शाखाले धुन्चेमा सञ्चालन गरेको तेस्रो वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रमको अवसरमा सो कुराको जानकारी दिएको हो।

न्यून आय भएका घरधुरी, कर्जाका लागि पर्याप्त धितो नभएका अनौपचारिक क्षेत्रमा स्वरोजगार भएका र आर्थिक क्रियाकलापमा संलग्न हुन चाहानेको लागि समावेशी बैंकिङ सेवा प्रवाह गर्दै दिगो विकासको कार्यक्रमा कर्जा प्रवाह गरिएको शाखा प्रबन्धक नवीन खतिवडाले बताउनुभयो।

२०७० पुसमा स्थापना भएको शाखाले हालसम्म ५९ वटा केन्द्र गठन गरी ९ सय ७० जना सदस्य बनाएको छ। साथै ती सदस्यले तीन वर्षमा एक करोड १२ लाख ९० हजार ६३० रुपियाँ बचत गर्दै आएका छन्। शाखाले सदस्यको मृत्यु भएको दुई वटा परिवारलाई ६ हजार र १४ जनालाई सुत्केरी स्याहार खर्च वापत २१ हजार प्रदान गरेको छ।

धुन्चे शाखा अन्तर्गत गठन गरिएका ५९ केन्द्रमध्ये वर्षभरी उत्कृष्ट काम गर्न सफल भएका ६ वटा केन्द्रलाई सम्मान गरेको छ। ठाडे एनएमबीमहिला समूह पहिलो, बोकेझुण्डा दोस्रो, सोले तेस्रो भएका छन्।

प्रतिक्रिया दिनुहोस्