बजार अनुगमन टोलीमाथि आक्रमण



सन्तोष खनाल, काठमाडौं
बजार अनुगमनमा निस्किएको नेपाल सरकार आपूर्ति मन्त्रालयको टोलीमाथि बालाजुमा आक्रमण भएको छ। पटक–पटक अनुगमनमा कैफियत देखिएका पसल तथा फर्म सिल गर्ने अभियान थालेको अनुगमन टोलीमाथि शुक्रबार आक्रमण भएको हो।

शुक्रबार अनुगमनमा निस्किएको मन्त्रालयसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, नाप तौल विभाग, जनस्वास्थ्य, पशु सेवा, उपभोक्ता बादी संस्थालगायतको टोली अनुगमनमा बालाजु पुगेको थियो।

बालाजुमा किराना पसल, होटल, डेरी उद्योग तथा मेडिकल र मासु पसलको अनुगमनका क्रममा बर्दी लगाएका प्रहरीमाथि पनि आक्रमणको प्रयास भएको प्रहरी बृत्त बालाजुका डीएसपी सन्तोष तामाङले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।‘मापासे गरेका महिलाबाट बर्दीधारी प्रहरीमाथि आक्रमण प्रयास भयो’ डीएसपी तामाङले भन्नुभयो, ‘यस्ता घटना दुरुत्साहन गर्न हामी उचित पहल थाल्छौं।’

प्रहरी बृत्त बालाजुबाट अनुगमनमा खटिएका प्रहरीमाथि हातपातको प्रयास भएको थियो भने मन्त्रालयको अनुगमन टोलीलाई तथानाम गाली गरिएको थियो। प्रहरीले बालाजुबाट चन्द्रा तामाङ, डोल्मा तामाङ र माया सेर्पालाई पक्राउ गरेको जनाएको छ। बालाजुको सुस्मिता खाजा घरका सञ्चालक नवाङ सेर्पा र उनकी श्रीमतीसहित आक्रमण प्रयास गर्नेलाई कार्वाही गर्न मन्त्रालयबाट खटिएको अनुगमन टोलीका संयोजक गोविन्दप्रसाद लुईंटेलले निर्देशन दिनुभएको थियो।

टोलीले दैनिक उपभोग्य सामग्री, खाद्य, औषधि तथा मासु पसललगायतको अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा अधिकांश फर्म तथा पसलमा दर्ता नगरी सञ्चालन गरेको, म्याद नाघेका सामान खुलेआम बेचेको, मूल्य सूची नराखेको, निक्कै फोहोरमा व्यवसाय सञ्चालन गरेको, नाप तौल प्रमाणित नगरेकोलगायतका समस्या देखिएको छ। बालाजुको अनुगमनका क्रममा मासु, दूध तथा दुग्धजन्य पदार्थ, दालमोठ, भुजिया, चाउचाउ, बिस्कुट, चकलेट, मिठाइ तथा मिठाइजन्य पदार्थ, चिसो पेय पदार्थ, क्यान जुस, औषधि, मदिरा, चिप्स, तरकारी, खानेतेल र तयारी खाद्यलगायतमा कैफियत देखिएको थियो।

शुक्रबारको अनुगमनमा बालाजुमा रहेको सिर्जन फ्रेस मिट हाउसमा १५ किलोबराबर लेबल नलगाइएको र सडेको मासु फेला परेको थियो। करिब १८ हजार बराबरको अस्ट्रिजसहितको मासु अनुगमन टोलीले जफत गरेर नष्ट गरेको छ। यता अनुगमन टोलीका संयोजक गोविन्दप्रसाद लुईंटेलले अनुगमन झन सशक्त पार्ने बताउनुभएको छ। उहाँले अब यो आर्थिक वर्षभरि अनुगमन चलाइरहने योजना बनाइएको जानकारी दिनुभयो। उपभोक्तावादी दर्शन आचार्यले ठूला उद्योग र प्रतिष्ठानमा छापा मार्न जरुरी रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्