खै! हर्नमुक्त अभियान के हुने हो



वैशाख १ बाट राजधानीलाई हर्नमुक्त बनाउने अभियानको घोषणा सरकारी तवरबाट भएको सुन्दा धरहरा खुसीले गदगद भएको मात्रै होइन अब यो बुढो कानले हाइसन्चो पाउने भो भन्नेमा ढुक्क के भएको थियो। हर्न निषेधित राज्यको घोषणा लागू हुनेमा शंका व्यक्त गरेर दुई युवाले नियमनकारी निकायको खिसीटिप्री गरेपछि भने धरहराको मन खिन्न भएको छ।

दुई बैंशालु युवाले सरकारलाई चुनौति दिँदै भने सरकारले त के–के घोषणा गरेको छ गरेको छ त्यो लागू भएको होइन क्यार सरकारका मान्छे कहाँ घूस पाइन्छ भनेर हिँड्नेले यो नियम लागू गर्नु त कुन्नी के हो पो भन्दै सरकारी निकायलाई उडाएको देखेर घरहरा एकछिन त अलमल मात्रै हैन छक्क नै पर्यो भन्या। हुन पनि सरकार ६–६ महिनामा परिर्वतन हुन्छ अनि सरकारले काम देखाउन हुने नहुने कुरा घोषणा गर्छ व्यवहारमा लागू हुँदैन।

सरकारले प्लास्टिकमुक्त क्षेत्र घोषणा गरेको भए पनि त्यो घोषणा लागू नभएपछि राजधानीबासी दिकदार भइरहेको बेला हर्न निषेधित क्षेत्र घोषणा हुनु चाही पक्कै राम्रो हो कि भन्ने धरहरालाई लागेको छ।

लौन सरकार हुने मात्रै घोषणा गर जनतामा पपुलर हुनका लागि जे मन लाग्यो त्यही घोषणा नगर है। धुलोले आक्रान्त राजधानीबासी हर्नबाट पनि दिक्क भाका छन् यसबाट मुक्ति दिलाइदेऊ भने यसपटकको स्थानीय निर्वाचनमा सरकारलाई जनताले पत्याउलान् नि ?

प्रतिक्रिया दिनुहोस्