नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन सशक्त नेतृत्वको खाँचो



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन नजिकिँदै जाँदा उद्योग व्यवसायीलाई चुनावी चटारो बढ्दै गएको छ।

निजी क्षेत्रको ठूलो एवम् छाता संगठन भएकाले उद्योग व्यवसायीहरूको एजेन्डा स्थापित गरेर अगाडि बढ्ने उद्धेश्यका साथ स्पष्ट रूपमै प्यानल घोषणा गरेर शेखर गोल्छा र किशोर प्रधानको समूह चुनावी मैदानमा उत्रिएका छन्।
महासंघका अध्यक्ष पशुपति मुरारकाले सहमतिका लागि थालिएको भनिएको प्रयास पनि विफल भएपछि अन्ततः प्रधान समूह र गोल्छा समूहबीच प्रतिस्पर्धा हुने भएको छ। तर, सहमतिका लागि अन्तिम दिनसम्म प्रयास थाल्ने मुरारकाको भनाइ छ। यसैक्रममा महासंघको निर्वाचनमा उत्रिएका सदस्यका उम्मेदवारको एजेन्डाका विषयमा गरिएको कुराकानी।

नयाँ सोचको आवश्यकता छ

अञ्जन कुमार श्रेष्ठ
वस्तुगततर्फबाट सदस्यका उम्मेदवार

अहिले मुलुकमा थुप्रै चुनौतीको स्थिति सिर्जना भएका छन् र अवसरको स्थिति पनि प्रशस्तै छन्। अब स्थानीय निर्वाचन हुँदैछ। चुनावपछि मुलुकले १८ वर्षदेखिको अन्योलता हट्नेछ। चुनावपछि स्थानीय संयन्त्र सबल र सक्षम भएर जान्छन्।

यस्तो अवस्थामा नेपालमा नयाँ अवसरहरूको खोजी पनि हामीले गर्नुपर्छ। अवसरलाई सदुपयोग गर्नसक्ने वातावरण सिर्जना गर्ने चुनौती हामीसंँग छ। त्यस्ता चुनौतीलाई बुझेर अगाडि बढ्न सक्ने स्थितिका कारणले नयाँ र सक्षम नेतृत्व महासंघमा आउनु जरुरी छ।

नयाँ सोच र विचारका साथ हिजोको राजनीतिक निकासको बाटोमा अघि बढिरेहका बेला मुलुकले आर्थिक निकास र आर्थिक विकासको परिस्थितिलाई नयाँ सोच, विचार र ऊर्जाका साथ नेतृत्व चयन गर्नुपर्ने देखिन्छ।

समूहको आवाजलाई बुलन्द गर्ने छु
रामशरण थपलिया
एसोसिएटतर्फको सदस्यका उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघ उद्योगी व्यवसायीहरूको छाता संगठन हो। निजी क्षेत्रको समग्र व्यवसायको प्रतिनिधित्व गर्ने हुँदा आर्थिक समृद्धिका लागि महासंघको ठूलो योगदान रहन्छ।

हाल महासंघमा थुप्रै समस्या रहेका छन्। ती समस्यालाई न्यूनीकरण गरेर सबल र राम्रो बनाउँदै युवा वर्गको नेतृत्वमा महासंघलाई अगाडि बढाउन जरुरी छ।
महासंघको माध्यमबाट देश विकासको हिस्सेदारका रूपमा समग्र उद्योग व्यवसायीको समस्या समाधानका लागि महासंघ नै एउटा उत्कृष्ट बाटो हो। यसमार्फत् सरकारलाई नीति निर्माणका लागि घच्घच्याउन सहयोग गर्दछ।
समूहको आवाजलाई बुलंन्द गर्न राज्यलाई सही दिशानिर्देश गर्नका लागि महासंघले भूमिका खेल्छ। तसर्थ, नेतृत्वमा पुगेर उद्योगी व्यवसायीका विभिन्न विषयमा पहलकदमी गर्न मेलै उम्मेवारी दिएको हँु।
निर्यात प्रवद्र्धन गर्ने छु
नरेशलाल श्रेष्ठ
वस्तुगततर्फको सदस्यका उम्मेदवार
स्वतन्त्र हिसाबले आर्थिक क्षेत्रको विकासका लागि लड्ने र महासंघमाथि खेलबाड र राजनीति नगर्ने र स्वच्छ छवि भएको उम्मेदवारलाई नेतृत्व दिनुपर्छ। महासंघको हालको बिग्रिरहेको छविलाई सुदृढ गर्ने खालको नेतृत्व हामीले खोजेका हौं।

मुलुकको निर्यात क्षेत्रको प्रवद्र्धनका लागि धेरै गर्न बाँकी छ। निर्यात क्षेत्रको विकासका लागि प्रतिनिधित्व गर्ने हिसाबले मैले उम्मेदवारी दिएको हुँ। विद्यमान व्यापारघाटा न्यूनीकरण र न्यून आन्तरिक उत्पादनका जोड दिनका लागि नीति निर्माणको क्षेत्रमा मैले पहलकदमी गर्नेछु।

युवापुस्तालाई सशक्त बनाउनुपर्छ
प्रवलजंग पाण्डे
एसोसिएटतर्फको सदस्यका उम्मेदवार

महासंघ निजी क्षेत्रको सशक्त छाता संगठन हो। हाम्रो आवाज भनेकै व्यक्तिगत रूपमा नभई त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने हो। जो मान्छे शेयरधनी हो र सिमेन्ट, औषधि, बैकिङ, जलविद्युत् लगायत विभिन्न क्षेत्रमा व्यापार गरिरहेका छन। ती व्यक्तिको समस्या हामीलाई थाहा छ। सबै क्षेत्र बुझेको मान्छे महासंघमा आउँदा सरकारलाई पनि सही सल्लाह र सुझाव दिन सकिन्छ। भिन्नभिन्न क्षेत्रका व्यक्ति महासंघमा अटाउँदा हरेक क्षेत्रले लाभ लिन सक्छन्।

पुरानो पुस्ताको जिम्मेवारी हामीमा आउने हो। हामी युवापुस्ताले नै पुराना पुस्ताबाट पाठ सिक्दै थप सशक्त भएर नयाँ पुस्ता आउनुपर्छ। नेतृत्व भनेको सबै क्षेत्रको ज्ञान भएको र समस्या बुझ्ने हुनुपर्छ भन्ने मलाई लाग्छ। नेतृत्वले निजी क्षेत्रको समस्यालाई सरकार समक्ष राख्न सक्नुपर्छ। जसले गर्दा सरकारले नीति निर्माणमा सहयोग पुगोस् र निजी क्षेत्रले लाभ लिन सकुन भन्ने नै हाम्रो चाहाना हो।
व्यवसायीको हकहितमा लाग्नेछु
ध्र्रुबराज श्रेष्ठ
जिल्ला तथा नगरतर्फबाट सदस्यका उम्मेदवार
अर्थतन्त्रको सुदृढीकरण, भ्याट, कर, थ्रेस होल्ड, मिसम्याचलगायतका समस्या सम्बोधनका लागि राज्यलाई सहमति सहकार्यको माध्यबाट अघि बढाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ। जिल्लाका उद्योगीको समस्या समाधान र व्यवसायीको हकहितसँगै सामाजिक कार्यलाई अघि बढाउनु मेरो प्राथमिकताको विषय रहेको हो। विगत २६ वर्षदेखि उद्योग वाणिज्य संघको कार्यकारी सदस्य, जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म रहेर काम गरेको हुँदा मैले उम्मेदवारी दिएको हुँ।
पुराना र नयाँ व्यवसायीबीच ग्याप हटाउनेछु
उदीप श्रेष्ठ
एसोसिएटतर्फको सदस्यका उम्मेदवार

युवा पुस्ताको नेतृत्व महासंघमा आउन जरुरी छ। म युवाहरूको क्षेत्रमा काम गर्ने विभिन्न संस्थासँंग पनि आबद्ध छु। मेरो उम्मेदवारी पुराना पुस्ता र नयाँ व्यवसायीको बीचमा देखिएको खाडललाई कसरी हटाउर्ने भन्नेतर्फ केन्द्रित छ।

नयाँ पुस्ताको धारणा महासंघमा राख्दा नयाँ उद्योगीलाई फाईदा पुग्छ। मेरो प्रमुख र महत्त्वपूर्ण एजेन्डा भनेकै नयाँ पुस्तालाई उद्योग र व्यापारका क्षेत्रमा बढीभन्दा बढी कसरी आकर्षित गर्न सकिन्छ भन्ने हो। कमी कमजोरी हरेक क्षेत्रमा हुन्छन् तर ती समस्यालाई सकारात्मकतातिर ढाल्न सक्नुपर्छ। जहाँसम्म मलाई लाग्छ नयाँ पुस्ताको ज्ञान सीप र व्यवहारिक दक्षताले अब भन्ने समितिमा प्रभावकारी प्रतिनिधित्व गर्नेछ।

प्रतिक्रिया दिनुहोस्