गणतन्त्र पनि निर्विकल्प होइन



सुशील देवकोटा

२०४६ सालको राजनीतिक परिवर्तनपछि जनतामा जुन उत्साह छाएको थियो, त्यसलाई दिगो बनाउने दायित्व राजनीतिक दल र नेताहरुको थियो। तर हाम्रा राजनीतिक दल र दलका नेताहरुले आफ्नो यो कर्तव्य र दायित्व बुझेनन् वा बुझ्न चाहेनन् अथवा बुझेर पनि बुझ पचाए अनि आफ्नो, आफ्नो परिवारको र आफ्नो गुटको मात्रै स्वार्थ पूर्ति गर्नेतर्फ केन्द्रित भए। फलस्वरुप जनतामा वितृष्णा जाग्न थाल्यो। कतिपय जनताले त यो भन्दा पञ्चायत नै ठीक थियो भन्ने धारणासमेत व्यक्त गर्न थालेका थिए। प्रजातान्त्रिक व्यवस्थाभन्दा अभिव्यक्ति स्वतन्त्रतासमेत कुण्ठित गरिएको पञ्चायती व्यवस्था कुनै पनि हालतमा राम्रो हुँदै होइन। यो सत्य हो, तर यो पनि सत्य हो कि यो तर्कबाट जनता सन्तुष्ट हुन तयार थिएनन् र छैनन्। किनकि २१ औं शताब्दीका नेपाली जनताले यो बुझिसकेका छन् कि देशप्रेम जनताको मनमा मात्रै छ, नेताको मनमा छैन। नेताहरुलाई केवल सत्ता र शक्ति चाहिएको छ।

४८ सालको आमनिर्वाचनमा जनताले देश कांग्रेसको जिम्मा लगाए। पाँच वर्ष बहुमतको सरकार चलाउने जनादेश दिए। परिवर्तित नेपाललाई कांग्रेसले अगाडि बढाउँछ भन्ने विश्वास व्यक्त गरे। तर त्यो विश्वासलाई गिरिजाप्रसाद कोइराला नाम गरेका खलनायकले भताभुंग पारिदिए। नेपाललाई आजको दुरावस्थामा ल्याउने केही प्रमुख खलनायकमध्ये गिरिजाप्रसाद कोइराला पनि एक प्रमुख हुन् भन्ने तथ्य लुकाएर लुक्नै सक्दैन। ५१ सालमा आफ्नो इगोको लागि जनादेशलाई लात हानेर मध्यावधि चुनाव गराउने उनको त्यो विवेकहीन निर्णयसँगै नेपालमा शुरु भएको राजनीतिक अस्थिरता अझै सकिएको छैन। मध्यावधि चुनावपछि बनेको मनमोहन अधिकारीको अल्पमतको सरकारलाई ‘यो सरकारलाई म फु गरेर ढालिदिन्छु भन्ने जस्तो घमण्डी अभिव्यक्ति दिने गिरिजाप्रसाद कोइरालाले जति समय राजनीति गरे त्यो पूरै समय उनले सत्ता र शक्तिबाहेक अरु केही हेरेनन् र देखेनन्। जनतालाई सम्झिन लायकको केही कुरा उनले दिए भने त्यो हो टनकपुरको अव्यावहारिक सन्धि, लाउडा काण्ड, धमिजा काण्डजस्ता भ्रष्टाचारका धेरै उदाहरण र सबैभन्दा राष्ट्रघाती शान्ति स्थापनाको नाममा गरिएको १२ बुँदे समझदारी।

बीपीको प्रजातान्त्रिक समाजवादको आदर्श बोकेर अगाडि बढ्नुपर्ने कांग्रेस अहिले ‘एनी हाउ सत्ता पड्काऊ भन्ने गिरिजाप्रसाद कोइरालाको निकृष्ट सिद्धान्तमा अगाडि बढेको छ र वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता–लोभमा आपूm गिरिजाप्रसाद भन्दा कम नभएको प्रमाणित गरिसकेका छन्। नैतिकता र सिद्धान्त उनको लागि अर्थहीन र मूल्यहीन हुन् भन्ने कुराको प्रमाण आफू प्रधानमन्त्री बन्ने लोभमा माओवादीसँग घाँटी जोडेर उनले दिइसकेका छन्।

बहुदलीय प्रजातन्त्रपछि पहिलोपटक बनेको बहुमतको सरकारले राम्रोसँग गति पनि नलिँदै देशभरिका कर्मचारी उचालेर विरोधको राजनीति गर्ने एमाले न कहिले सम्पूर्ण कम्युनिस्ट बन्यो, न प्रजातान्त्रिक ? आफ्नो नीतिमा आफैं प्रस्ट नभएको जस्तो देखिने एमाले र यसका नेताहरुको चरित्र पनि नेपाली जनताले छर्लंग देखिसकेका छन्। आफैं संविधान मस्यौदा समितिमा बसेर बनाएको संविधानलाई पछि आफैंले आलोचनात्मक समर्थन गर्ने माधवकुमार नेपालजस्तो बोलीको ठेगान नभएको मानिसलाई वर्षौंदेखि नेता मान्नुपर्ने बाध्यता नेपाली जनताको अर्को वितृष्णाको कारण हो। दरबार हत्याकाण्डको छानबिन हुनुपर्छ भनेर उड्किने तर छानबिन समितिमा बस्न खुट्टा कमाएर नाम फिर्ता लिने माधवकुमार नेपालले चुनाव हारेपछि पनि मनोनितको रुपमा संसद्मा जान र पछि प्रधानमन्त्री बन्नसमेत लाज मानेनन्।

त्यस्तै हाल राष्ट्रवादीको बर्को ओढेका केपी ओलीले जतिसुकै जनतालाई हँसाए पनि जनताको आँखा ओभानो भएको छैन। उखान टुक्का र चुट्किला भनेर राष्ट्र चल्दैन र राष्ट्रिय हित हुँदैन भन्ने बुझेका जनताले हिजो ओलीले महाकाली सन्धिमा निभाएको भूमिका बिर्सिएका छैनन्। सोह्रै आना नेपालको हित विपरीत रहेको महाकाली सन्धि गर्ने एक प्रमुख पात्र हुन् केपी ओली।

यिनै नेताहरुको अदूरदर्शिताको परिणाम थियो माओवादी आतंक। माओवादीको १० बर्से आतंककारी गतिविधिका कारण नेपाल वर्षौं पछाडि धकेलिएको छ। तर शुरु–शुरुमा यही माओवादी आतंकलाई समेत सत्ता प्राप्तिको सिँढी बनाउन चुकेनन् हाम्रा यी कथित नेताहरु। अरु समृद्ध देशहरुको कुरै छोडौं, छिमेकी देश भारत र चीनले गरेको विकास र आर्थिक प्रगति देखेर नेपाली जनताको मन कति पोल्दो हो भन्नेसम्म सोच्दैनन् यी नेताहरु।

देशमा भएको परिवर्तनको प्रतिफल जबसम्म जनताले सकारात्मकरुपमा पाउँदैनन् तबसम्म त्यो परिवर्तन अर्थहीन हुन्छ। नेपालमा पनि जति नै व्यवस्था परिवर्तन भए पनि वा जुनसुकै तन्त्र आए पनि जबसम्म जनताले त्यो परिवर्तनको सकारात्मक प्रभाव आपूmमा महसुस गर्दैनन् तबसम्म जनताले परिवर्तनको चाहना त्याग्दैनन्। यहाँ नेताहरुले एउटा कुरा स्पष्टरुपमा के बुझ्न जरुरी छ भने, नेताले भाषण ठोक्दैमा वा नेताले हावामा मुठ्ठी कस्दैमा परिवर्तन आउने होइन र यदि जनताले साँच्चै चाहने हो भने कसैले रोकेर परिवर्तन रोकिने होइन। विगत झन्डै २४ वर्षदेखि हाम्रो देशमा राजनीतिको नाममा जुन लज्जास्पद नाटक चलिरहेको छ त्यसलाई नेपाली जनताले देखिरहेका छन्, बुझिरहेका छन्। यो देखाइ र बुझाइ वितृष्णाको ज्वाला बनेर नेपालीको मन–मनमा सल्किरहेको छ। जुन दिन यो ज्वाला ज्वालामुखी बनेर विस्फोट हुन्छ तब यहाँ न कुनै पार्टीको अस्तित्व रहन्छ, न कुनै नेताको ? अहिलेका सत्ता–लोभी नेताहरुले बुझून्– गणतन्त्र पनि अपरिवर्तनीय र निर्विकल्प होइन।

प्रतिक्रिया दिनुहोस्