औषधिमा खेलबाड नगर



बजारमा बिक्री भइरहेका केही औषधि गुणस्तरहीन भएको समाचार प्रकाशमा आएको छ । औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा तीनवटा कम्पनीले बिक्री गरिरहेको औषधिको गुणस्तर निकै खस्किएको खुल्न आएको हो । एक त रोगका कारण बिरामीको अवस्था नाजुक भएको हुन्छ, त्यसमाथि उसले प्रयोग गर्ने औषधि नै गुणस्तरहीन भएपछि बिरामीको स्वास्थ्यमा कस्तो असर पर्ला ? रोग बिसेक होला वा नियन्त्रणमा आउला भनेर उपयोग गरिने औषधि नै मापदण्ड विपरीत भएको थाहा पाएपछि यस्ता औषधि सेवन गरिरहेका बिरामीमा त्रास उत्पन्न हुँदा स्वास्थ्यमा झनै जटिलता आउने कुरालाई पनि नकार्न सकिँदैन । त्यसैले औषधिजस्तो संवेदनशील विषयमा राज्य गम्भीर बन्नै पर्छ ।

अनुगमनका क्रममा दुई भारतीय र एक नेपाली कम्पनीका औषधि मापदण्ड विपरीत रहेको औषधि व्यवस्था विभागको भनाइ छ । समाचारअनुसार भारतको हिन्दुस्तान मेडिसिन प्रालिबाट उत्पादित झाडापखाला लागेका एवं कमजोर अवस्थाका बिरामीलाई तत्काल शक्ति दिनका लागि प्रयोग गरिने डेक्सट्रोज इन्जेक्सन आईपी ५०, भारतकै वर्कहार्ड्ट लिमिटेडबाट उत्पादित अल्सरका बिरामीले प्रयोग गर्ने प्रोराब २० र नेपाली कम्पनी विजयदीपले मधुमेहका बिरामीका लागि उत्पादन गरेको भी–ग्लिम २ नामका औषधि गुणस्तरहीन भएको पाइएको छ । अन्य औषधिहरु पनि गुणस्तरहीन र मापदण्ड विपरीत हुन सक्ने कुरालाई मध्यनजर गरी सम्बन्धित निकायले बजार अनुगमनलाई अझ तीव्र बनाउनुपर्ने देखिन्छ ।

बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमुना परीक्षण गर्दा उल्लिखित औषधिहरु न्यून गुणस्तरका पाइएकाले मापदण्ड विपरीतका ती औषधि औषधि ऐन २०३५ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण १५ दिनभित्र विभागमा पेस गर्न सम्बन्धित कम्पनीहरुलाई निर्देशन दिइएको समाचार छ । बजारमा भएका यस्ता औषधिको बिक्री रोकी फिर्ता गराएर मात्र हुँदैन, मापदण्ड विपरीतका गुणस्तरहीन औषधि उत्पादन गरी जनस्वास्थ्यमा खेलबाड गर्ने औषधि कम्पनीहरुलाई पनि कडाभन्दा कडा कारबाही गर्नु नितान्त जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्