रासायनिक हतियार प्रयोग भएको पुष्टि अब पनि कति बच्चा मारिनुपर्ने हो, रुसले सोच्नुपर्छः अमेरिका



बेरुत, (एजेन्सी)
टर्कीले इदलिबमा हालै भएको एक आक्रमणमा रासायनिक हतियार प्रयोग भएको पुष्टि भएको जनाएको छ। सिरियाको विद्रोही नियन्त्रित प्रान्त इदलिबमा मङ्गलबार भएको आक्रमणमा केही घाइतेलाई उपचारार्थ टर्की पुर्याइएका थिए। तर उपचारका क्रममा मृत्यु भएका तीन व्यक्तिको शव परीक्षणको रिपोर्टमा आक्रमणमा रासायनिक हतियार प्रयोग भएको भेटिएको टर्कीका न्यायमन्त्रीले बिहीबार जानकारी दिए।

इदलिबमा भएको उक्त आक्रमणमा ८६ जनाको मृत्यु भएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए।

सिरियाको उत्तरी शहर खानसैख्वानमा भएको उक्त आक्रमणमा रासायनिक हतियारको प्रयोग भएकामा व्यापक आलोचना आइरहेका छ। यसैबीच टर्कीले एक विज्ञप्ति जारी गरी शव परीक्षणबाट आक्रमणमा विषाक्त रसायन प्रयोग भएको पुष्टि भएको जनाएको हो।
यसैबीच संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत निकी हेलीले सिरियाली सरकारमाथि अंकुश लगाउन असफल भएकामा रुसको कडा आलोचना गरेकी छिन्। राष्ट्र संघमा दिएको आफ्नो भावुक भाषणमा उनले प्रश्न राख्दै भनिन्– ‘अब पनि कति बच्चा मारिनुपर्ने हो यस विषयमा रुसले सोच्नुपर्छ।

सिरियामा भइरहेको गृहयुद्धमा रुस सिरियाका राष्ट्रपति बसर अल असदका सहयोग रहेको छ र सिरियाली सेनालाई समर्थन गरिरहेको छ।

उक्त घटनामा सिरियाली सरकारी सेनाको संलग्नता रहेको विद्रोहीलगायत विभिन्न मुलुकले आरोप लगाएका छन्। तर सिरिया सरकारले आफ्नो सेनाबाट कुनै पनि कारबाहीमा रासायनिक हतियारको प्रयोग नगरेका दाबी गर्दैै आएको छ।
यसबारे सिरियाको अडानलाई पुनः बिहीबार दोहोर्याउँदै सञ्चारकर्मीसँग सिरियाली विदेशमन्त्री वालिद मौलेमले आफ्नो सरकारले रासायनिक हतियारको कहिल्यै पनि प्रयोग नगरेको र आगामी दिनमा पनि प्रयोग गर्ने नीति नरहेको बताए। ‘सरकारले रासायनिक हतियार सिरियाली विद्रोहीविरुद्ध मात्र नभई आतंकवादी समूहविरुद्ध पनि प्रयोग गरेको छैन र कहिल्यै प्रयोग गर्ने पनि छैन। –मौलेमले थपे।

टर्कीका सरकारी समाचार एजेन्सी अनादोलु र निजी डीएचए न्युज एजेन्सीले न्यायमन्त्री बकिर बोदागलाई उद्धृत गर्दैे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधिसमेतको उपस्थितिमा भएको शव परीक्षणमा रासायनिक हतियार प्रयोग भएका तथ्य भेटिएका उल्लेख गरेका छन्।

करिब ६० घाइतेलाई उपचारका लागि टर्की ल्याइएकामा तीन जनाको मृत्यु भएको टर्कीका अधिकारीले जानकारी दिए। मङ्गलबारको आक्रमण टर्कीको सीमाक्षेत्रबाट करिब सय किलोमिटर टाढा सिरियाली शहरमा भए पनि टर्कीको सहयोग प्राप्त विद्रोही नियन्त्रित उक्त क्षेत्रमा प्राथमिक उपचार केन्द्र स्थापना गरी सेवा प्रदान गरेको थियो।

रुसी रक्षा मन्त्रालयले सिरियाली हवाई आक्रमण विद्रोहीको रासायनिक हतियार तथा म्युनिसन उद्योगमा लागि विषाक्त तत्त्व आवास क्षेत्रमा फैलिएको दाबी गरेको छ।

मौलेमले पनि एक विज्ञप्तिमा अलकायदाको सिरियाली समूहको एक हतियार भण्डारमा सिरियाली सेनाले आक्रमण गरेको तर त्यहाँ रासायनिक हतियार रहेको उल्लेख गरे।
घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतका विश्वका नेताले घटनामा सिरियाली राष्ट्रपति बसर अल असद दोषी भएको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्