गुल्मीका महिलाको चर्चा



अनिल खत्री, गुल्मी

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा यति बेला जिल्लाका सबै राजनैतिक दललाई चुनावी सरगर्मी बढेको छ। सबै आआफ्नै संगठनका काममा व्यस्त देखिन्छन्। नगर वा गाउँपालिकाका सम्भावित उम्मेदवारहरूको चर्चा पनि शुरू हुन थालेको छ। गुल्मीमा २ नगरपालिका, १० गाउँपालिका र ९३ वडा रहेका छन्। उम्मेदवारको चर्चामा नगर वा गाउँपालिकाको नेतृत्व गर्ने महिलाहरूको कुनै गुन्जायस सुनिँदैन। सबै पार्टीभित्र अहिलेसम्म पुरुषहरूले नै आआफ्नो नेतृत्व सबैतर्फ फैलाएका छन्।

स्थानीय तहमा गाउँपालिका र नगरपालिकाको निर्वाचनमा कानुनले प्रमुख वा उप्रमुखमध्ये एक जना महिला भनेकै कारण दलहरू महिलालाई सकेसम्म उपप्रमुखमै थन्काउने दाउमा देखिन्छन्। जिल्लामा कांग्रेस जिल्ला सचिव विष्णु सापकोटा, अनिशा केसी, सीता अर्याल, मीना जिसी, अमृता कँुवर, अम्बिका श्रेष्ठ, तारा पौडेल, सीता पाण्डेय, गीता थाापा, भोमा गुरुङ, देवी पुन, मीना राना, भगवती काफ्ले भण्डारी, देवी कुँवरलगायत नगर तथा गाउँपालिकाको नेतृत्व गर्न सक्ने कांगे्रस नेतृहरू हुन्।

एमालेको तर्फबाट अनेमसंघ अध्यक्ष ललिता गौतम, सीता भुसाल, नर्मदा भण्डारी, कमला शर्मा, विमला खत्री, माओवादी केन्द्रको तर्फबाट लीला बलाल, वन्दना पोख्रेल, गीता थापालगायत नगर तथा गाउँपालिकामा नेतृत्वका लागि आउन सक्ने सम्भावित नाम हुन्। जसमध्ये अहिलेसम्म नेपाली कांग्रेस पार्टी सचिव विष्णु सापकोटाको नाम मुसिकोट नगरपालिकामा मेयरका लागि चर्चामा छ। तर पार्टीको आधिकारिक धारणा भने बाहिर आएको छैन।

एमालेले अहिलेसम्म कुनै नगर वा गाउँपालिकामा महिला नेतृत्वको टुंगो लगाएको छैन। तर अनेमसंघको तर्फबाट नगर तथा गाउँपालिकामा तीनवटा मेयर पाउनुपर्ने माग केन्द्रीय तथा जिल्ला कमिटीमा गरिएको अनेमसंघ जिल्ला अध्यक्ष ललिता गौतमले बताइन्। सबै पार्टीमा आधिकारिक रूपमा कुनै महिला नेतृत्व टुंगो लगाइएको छैन। त्यस्तै वडा स्तरमा पनि महिलाले नै नेतृत्व पाउने कम सम्भावना रहेको छ। वडामा पनि बरु उपाध्यक्ष कुन महिलालाई बनाउने भनेर लबिङ शुरू भएको छ।

सामान्यतया धेरैजसो कमिटीमा महिला सहसचिव वा कोषाध्यक्ष र सदस्यमै सीमित भएका छन्। सबैजसो कमिटीहरूमा पुरुषहरूको बहुल्यता हुने भए तापनि महिलाको संख्या कम भए पनि तिनीहरू सक्षम रहेको एमाले गुल्मीका प्रचार विभाग प्रमुख गणेश श्रीपालीको भनाइ रहेको छ। एमाले जिल्ला सचिवालय सदस्य कृष्ण घिमिरेका अनुसार गाउँ, क्षेत्र र जिल्ला स्तरीय संगठनको नेतृत्वमा महिलाहरू छैनन्। दलहरूका निम्ति ठूलो चुनौती चुनावी मैदानमा उठाउनुपर्ने महिलालगायत समावेशी समूहका उम्मेदवार एवं अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने पदहरूको नेतृत्व क्षमताको विकास हो। अहिलेसम्म हेर्ने हो भने जुनसुकै दलमा पनि दलीय संयन्त्रले लैंगिक सशक्तीकरण र समावेशीकरणमा ध्यान दिएका छैनन्। जसका कारण महिला नेतृत्वमा संकट पर्ने तथा अक्षमता कारण थप जोखिम हुने देखिन्छ। स्थानीय तहमा गाउँपालिका र नगरपालिकाको निर्वाचनमा कानुनले प्रमुख वा उप्रमुखमध्ये एक जना महिला उम्मेदवार बनाउनैपर्ने व्यवस्था गरे पनि महिला उम्मेदवारले निर्वाचन जित्ने सुनिश्चितताप्रति राजनैतिक दलहरू विश्वस्त छैनन्। जसका कारण उनीहरूलाई प्रमुखभन्दा उपप्रमुख बनाउनुनै बुद्धिमता ठानेका छन्।

अनेमसंघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष वन्दना पोख्रेलले अवसर आउँदा महिलालाई कुनै पनि दलले अक्षतामा देखाउन नमिल्ने बताइन्। उनले सबै पार्टीभित्र यस विषयमा छलफल र तयारी हुनुपर्ने बताइन्। एमाले नेतृ सीता भुसालले स्थानीय निकायका चुनावले गाउँ ताते पनि महिलाको विषयमा पार्टी केन्द्रहरू मौन रहेको बताइन्। अन्तिम समयमा एक्कासि उम्मेदवार टुंगो लगाउने पार्टी प्रवृत्तिले पनि नगर वा गाउँपालिका प्रमुखका आकांक्षी महिलालाई थप जोखिम हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्