भारतीय मोबाइल प्रयोग गर्न बाध्य



नेपाल समाचारपत्र
बैतडी
नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा तल्लोस्वराड क्षेत्रका बासिन्दा भारतीय मोबाइल प्रयोग गर्न बाध्य भएका छन्। साविकको आम्चोरा, कुलाउ, शिवनाथ, रोडिदेवल, महारुदलगायतका गाविसका स्थानीय बासिन्दा अझै पनि भारतीय मोबाइल प्रयोग गर्न बाध्य भएका हुन्।

यस क्षेत्रमा नेपाली फोनले काम गर्न थाले पनि अधिकांश ठाउँमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड फोन सेवाले काम नगर्ने उदयदेवका स्थानीय वीरेन्द्र महताले बताउनुभयो। नेपाल टेलिकम कुनै पनि मोबाइलले काम नगर्दा भारतीय मोबाइलको प्रयोग गर्न बाध्य भएको शिवनाथ गाउँपालिका–१ की रेखा साउदले बताउनुभयो। उहाँले भन्नुभयो– ‘गाउँमा सबैले भारतीय मोबाइल प्रयोग गर्ने गरेका छौं।

नेपाल टेलिकमको सेवा नै प्रभावकारी नहुँदा सबैले भारतीय मोबाइल प्रयोग गर्ने गरेको स्थानीय बासिन्दा पुष्कर साउदले बताउनुभयो। तल्लोस्वाराडमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य सेवालगायतका सेवा प्रभावित हुने गरेकाले टेलिकमले त्यो क्षेत्रमा आफ्नो सेवा प्रभावकारी बनाउन जरुरी रहेको छ। तल्लोस्वराड क्षेत्रमा नेपाल टेलिकमले आफ्नो सेवा प्रभावकारी बनाएर सञ्चारको सुविधा दिन आवश्यक छ।

टेलिकमको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य सेवा प्रभावित नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ। जिल्लाको दुर्गम पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका अधिकांश वडामा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यस क्षेत्रको स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो।

नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा स्वास्थ्य सेवा प्रभावित हुने गरेको शिवनाथ गाउँपालिका–१ शर्माली गौशल्ला सुरक्षित प्रसूति केन्द्रकी अनमी यशोदा साउदले बताउनुभयो। उहाँले भन्नुभयो– ‘गर्भवती महिला तथा सुत्केरी महिलालाई चेकजाँच गराउन फोन गर्न समेत सकिँदैन।

प्रतिक्रिया दिनुहोस्