राष्ट्रपति पूर्वराजा नजिकिए



ईश्वरराज ढकाल
काठमाडौं
छोरासँग पाहुनालाई स्वागत गर्न बसेका पूर्वयुवराज पारसको गलामा खादाको चाङ, छोरा हृदयेन्द्रलाई उपहार र फूलको बुके लिन भ्याईनभ्याई थियो।

आमा हिमानीलाई पनि आफू निकटका साथीलाई बधाई दिँदै बुके र खादा लगाइदिन झुम्मिएका थिए। हजुरबुबा ज्ञानेन्द्र र हजुरआमा कोमलले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालगायत विशिष्ट पाहुनालाई स्वागत गर्नुभएको थियो।

बिहीबार साढे ११ बजेदेखि २ बजेसम्मको समय तोकिएको नाति हृदयेन्द्रको व्रतबन्धको निम्तो मान्न आएका सबैको भीडले सोल्टी होटलको स्विमिङ पुलसँगैको चौर भरिभराउ थियो।

१५ वर्षीय नाति हृदयेन्द्रको व्रतबन्ध सम्पन्न भएको एकसातापछि भव्य भोजको आयोजना गरेका पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, संवैधानिक अंगका प्रमुख, सबै दलका अध्यक्षलगायतलाई निम्तो दिनुभएको थियो।
नेपाली कागजमा छापिएको कार्ड बोकेर मूल गेटमा दर्ता गर्दै निम्तो मान्न आएका सबैले पूर्वराजपरिवारलाई बधाई दिएका थिए।

दिउँसो पौने एक बजे ज्ञानेन्द्रका नाति हृदयेन्द्रको निम्तो मान्न पुग्नुभएकी विद्यादेवी भण्डारी करिब पौने घण्टा पूर्व राजासँग बस्नुभएको थियो। उहाँसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका राष्ट्रपतिको साथमै बस्नुभएको थियो।

विशिष्ट पाहुनालाई छुट्टै बस्ने व्यवस्था गरिएको स्थानमा पुगेर राष्ट्रपति भण्डारीले भोज र हिँड्ने बेलामा कफी खानुभएको थियो। राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्रबीच केहीबेर कुराकानीसमेत भएको थियो। सपरिवारले स्वागत गरेपछि राष्ट्रपति भण्डारीले हृदयेन्द्रलाई बधाई दिनुभएको थियो। व्रतबन्धको निम्तो मान्न उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापा, मन्त्री दीपक बोहरा, प्रेमबाहदुर सिंहलगायत पुग्नुभएको थियो।

वर्तमान मन्त्रीहरू नपुगेपछि राप्रपाका अधिकांश नेता, पूर्वमन्त्री पुगेका थिए। निम्तोमान्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, शरत्सिंह भण्डारी, सिपी मैनालीलगायत अधिकांश मधेसवादी नेता पुगेका थिए। नेपाली सेनाका पूर्वप्रधानसेनापति, नेपाल प्रहरीका पूर्वप्रमुख, नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरज वैद्य, रविभक्त श्रेष्ठ, चलचित्र अभिनेता राजेश हमाल, मनिषा कोइराला, राप्रपाका नेतृ कोमल ओलीलगायतका नेता निम्तो मान्न पुगेका थिए।
पाहुनालाई स्वागत गर्न पूर्वराजाका निजीसचिव सागर तिमल्सिना, संवाद सचिव डा. फणिराज पाठक, शम्भु अधिकारीलगायत प्रवेश गेटदेखि नै सवगत गर्न बसेका थिए।

गेटमै पाहुनाको कार्ड हेरर दर्ता गर्न बसेका निर्मल निवासका सुरक्षाकर्मीले सबै पाहुनालाई सोधेर पार्टीस्थलमा पुर्याएका थिए। पार्टीस्थलमा टेलिभिजन र स्टिल क्यामेरा निषेध गरिएको थियो।

पार्टीमा राजावादी र राप्रपाका नेताहरूको बाक्लो उपस्थिति थियो। राजावादीहरू नेपाली पोसाक दौरासुरुवालमा सजिएर दिवाभोजमा सरिक भएका थिए। पूर्वराजाले देशैभरका राजावादीलाई निम्तो दिनुभएको थियो। विभिन्न जिल्लाबाट निम्तो मान्न राजावादीहरू होटल सोल्टी पुगेका थिए। भारतबाट आएका हिमानीका परिवार र अति निकटकालाई राति सात बजेबाट भोजको व्यवस्था गरिएको थियो। कपाल बाँधेका पारस र छोरा हृदयेन्द्र सँगै बसेर पाहुनालाई स्वागत गरेका थिए। ८८ वर्षीय पूर्वमुमाबडामहारानी रत्न भने पार्टीमा सहभागी हुनुभएन।

छोराको व्रतबन्धमा हर्षित देखिनुभएका पारस पार्टीको विभिन्नस्थलमा पुगेर सबैलाई स्वागत गर्नुभएको थियो। २ बजे सकिने भनिएको पार्टी करिब साढे २ बजेसम्म चलेको थियो। विशिष्ट व्यक्तिलाई व्यवस्था गरिएको स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। सो स्थानमा कसैलाई पनि प्रवेश गर्न दिइएको थिए।

प्रतिक्रिया दिनुहोस्