बिषालु च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु



धन बस्नेत, पोखरा ।

बिषालु जंगली च्याउको सेवनबाट पोखरामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार एकजनाको मृत्यु भएको थियो । बिहीबार थप दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६, लामाचौरका तामाङ परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बिहीबार साढे ११ बजे उपचारको क्रममा सोनम मगरको मृत्यु भएको हो । एक जनाको गम्भीर बिरामी अवस्थामा राजधानीस्थित कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ ।

बिषालु च्याउको सेवनबाट ६० बर्षीया माइली तामाङ, उनकी कक्षा ११ मा अध्ययनरत १९ बर्षीया छोरी मनमाया तामाङ र माइलीकी जेठी छोरीका कान्छा छोरा ८ वर्ष सोनम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खडग बहादुर खत्रीले बताए । बुधबार साँझ माईली र सोही राती मनमायाको मृत्यु भएको थियो ।
मृतक सोनमका दाइ १२ बर्षीय आयुष मगरको भने गम्भीर अवस्थामा कान्ति बाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालये जानकारी दिए । गत चैत १९ गते मनमायाले स्थानीय अकला मन्दिरको दशर्नसँगै नजिकैको जंगलबाट ल्याएको च्याउ बेलुकी परिबारका चारै जनाले खाएका थिए । त्यसै दिनदेखि झाडापखाला लागेका उनीहरुले स्थानीय मेडिकलबाट पखालाको औषधि खाएर बसेको प्रहरीले जनाएको छ ।

च्याउको बिषले गम्भीर असर गर्न थालेपछि उनीहरुमध्ये माइलीलाई मणिपाल शिक्षण अस्पताल, मनमायालाई गण्डकी मेडिकल कलेज र सोनमलाई चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । आयुषलाई काठमाडौं रिफर गरिएको थियो । माइली र मनमायाको उपचाररत अस्पतालमा हिजो साँझ मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्