आयात घटाउन आधुनिक प्रविधि



नेपाल समाचारपत्र
हेटौंडा
बाह्य मुलुकबाट भइरहेको खाद्यपदार्थ आयात कम गर्न मकवानपुरमा जिल्ला कृषि कार्यालयको पहलमा आधुनिक प्रविधिबाट सामूहिक खेती थालिएको छ। मनहरी गाउँपालिकास्थित ज्यामिरेमा कार्यालयको सहयोग र सहजीकरणमा बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत् सामूहिक धान खेती थालिएको हो।

कार्यालयले मनहरीको ज्यामिरेबाट धान उत्पादन बढाउने अभियान थालनी गरेको हो। प्रगतिशील कृषक समूह गठन गरेर १० बिगाह क्षेत्रफलमा आधुनिकढंगबाट धान रोप्दै चैते धान उत्पादन बढाउने अभियानमा लागिएको जिल्ला कृषि विकास कार्यालय प्रमुख निर्मल गदालले बताउनुभयो।

कार्यालयले त्यहाँका १५ बिगाह क्षेत्रमा धानको बिउ लगाउने लक्ष्य लिएको छ। सामूहिकरूपमा थालिएको कृषिमा २२ जना कृषकको सहभागिता छ। उनीहरूले पुख्र्यौली ढंगबाट रोपार लगाएर धान रोप्दै आएको कार्यालयले छिटो र कम खर्चका लागि आधुनिक उपकरण, ट्रयाक्टर लगाएर धान रोपेर कृषिमा आधुनिकीकरणको आवश्यकता भएको बताएका छन्।

कृषिबाट कार्यालयले प्रतिहेक्टर ५ दशमलब ५ मेट्रिक टन उत्पादन हुने बताएको छ। बृहत्तर धान उत्पादनमा कार्यालयले किसानलाई धानको बिउ र रोपार्इंका लागि प्रयोग भएको आधुनिक मेसिनका लागि प्रतिकठ्ठा एक सय रुपियाँ सहयोग गरेको छ। एक सय बिगाह क्षेत्रमा धान उत्पादन गर्न ११ लाख २५ हजार रुपियाँ उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्