कामना सहकारी चेस जारी



कामना सहकारी चेस प्रतियोगितामा केशव श्रेष्ठ (बायाँ) चाल चल्ने क्रममा । तस्वीरः उजोल डंगोल⁄काठमाडौं

नेपाल समाचारपत्र
काठमाडौं
ललितपुरमा जारी कामना सहकारी चेस प्रतियोगिताको सेमिफाइनल समीकरण बुधबार पूरा भएको छ।

हिमाल लामा, क्षितीज भण्डारी, मनिष हमाल र सुमित पन्त सहकारी कपको पाँचौं संस्करणको अन्तिम चारमा प्रवेश गरेका हुन्। लिग तथा नकआउट दोहोरो प्रणालीमा सञ्चालित प्रतियोगिताको सातौं चरणको समाप्ति पश्चात् उत्कृष्ट चारमा पर्न सफल खेलाडीले मोटरसाइकलका लागि प्रतिस्पर्धा गर्नेछन्।
गोल्डेनगेटका हिमालले छैटौं चरणमा क्यान्डिडेट मास्टर केशव श्रेष्ठलाई हराए भने सातौं चरणमा पूर्वनेपाल च्याम्पियन सुरवीर लामासँग बराबरी खेले। जनता साकोस ठेचोका क्यान्डिडेट मास्टर क्षितीजले सातौंमा पूर्वनेपाल च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जित हात पारे। ७ खेलबाट हिमाल र क्षितीजले समान ६–६ अंक बनाए।

पहिलो तथा तेस्रो संस्करणका विजेता मदनकृष्ण कायस्थ तथा चौथो संस्करणका विजेता सजिन महर्जन नकआउट चरणमा छनौट हुन सकेनन्। छैटौं चरणमा पुण्यमान कर्माचार्यसँग पराजित भएसँगै क्यान्डिडेट मास्टर मदनकृष्णको नकआउट पुग्ने सम्भावना समाप्त भएको हो।

अर्थ बहुउद्देश्यीय सहकारी लगनखेलका मनिषले छैटौं तथा सातौं चरणमा क्रमशः क्षितीज भण्डारी तथा बद्रीलाल नेपालीसँग बराबरीको नतिजा आत्मसात गरे। त्यसै गरी श्रेयङ्कर साकोसका सुमितले छैटौंमा नेसनल डेभलपमेन्टका दीर्घराज जोशी तथा सातौंमा कन्काई साकोसका सुमन लामाको चुनौती पन्छाए। समान ५ दशमलव ५ अंक बनाएका करुणामय साकोसका बद्रीलाल नेपाली तथा मच्छिन्द्र क्लबका सुरवीर लामालाई टाइब्रेकमा पछि पार्दै मनिष र सुमित नकआउट चरणमा प्रवेश गरेका हुन्।

सुरवीर लामा तथा बद्रीलाल नेपाली समान ५ दशमलब ५ अंकका साथ लिगतर्फ शिर्षस्थानमा रहेका छन्। नेकोस चेस एकेडेमीका मदनकृष्ण कायस्थ, गोल्डेनगेट कलेजका केशव श्रेष्ठ, श्रमजीवी साकोसका विकास कुलुजु, स्वागतम साकोसका रवीन्द्र शाक्य, मखन चेस क्लबका पुण्यमान कर्माचार्य, भक्तपुर साकोसका राज प्रजापती, कामना साकोसका जनार्दन श्रेष्ठ तथा थापाथली चेस पार्कका सुशील चौधरीले समान ५–५ अंक बनाए।

कामना साकोसका क्यान्डिडेट मास्टर सजिन महर्जन, मखन चेस क्लबका सुमन राई, कन्काई साकोसका सुमन लामा, डायनामिक चेस एकेडेमीका भूपेन्द्र निरौला, नेसनल डेभलपमेन्टका राजेन्द्रप्रसाद श्रेष्ठ र संकटा साकोसका नवीन तण्डुकारले समान ४ दशमलब ५ अंक बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्