वैधानिक रूपमा कामदार पठाउन पाउन माग



नेपाल समाचारपत्र
काठमाडौं
घरेलु कामदार सरोकार समाज नेपालले खाडी मुलुकमा घरेलु कामदारका रूपमा काम गर्न तथा वैधानिक रूपमा जान पूर्णतः बन्द गर्ने सरकारको निर्णयप्रति विरोध जनाउँदै उक्त निर्णय खारेज गर्न माग गरेको छ।

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका २०७२ मन्त्रिपरिषद्ले पारित गरेपछि वैधानिक बाटो र कानुनी प्रक्रिया पूरा गरेर जानेलाई निरुत्साहन तथा बन्द गर्ने र सरकारी संयन्त्रकै संरक्षणमा अवैधानिक तथा गैरकानुनी प्रक्रियाबाट कामदार पठाउने कार्यलाई प्रोत्साहन मिल्ने भन्दै सरोकार समाज नेपालले सरकारको निर्णयको विरोध गरेको जनाएको छ।

घरेलु कामदार सरोकार समाज नेपालका अध्यक्ष किसन श्रेष्ठले ‘संस्थागत र अवैधानिक तरिकाले विदेशिने कामदारको व्यवहारिक कठिनाई र समस्या पहिचान गरी समाधान गर्नतर्फ लाग्नुभन्दा उल्टै वैधानिक रूपले संस्थागतरूपमा जाने प्रक्रिया नै पूर्णतः बन्द गर्ने निर्यणलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो।

नेपालले खाडी मुलुकमा घरेलु कामदार पठाउन ती देशसँग द्विपक्षीय सम्झौता गर्न नसक्ने र अवैधानिक रूपमा भारत श्रीलंकालगायत देशबाट जाने नेपाली कामदारको संख्यालाई पनि रोक्न नसक्दा उब्जिएको समस्यालाई हटाउन नसेको सरोकार समाजले जनाएको छ।

त्यस्तै घरेलु कामदार पठउने सम्बन्धि निर्देशिका २०७२ ले वैदेशिक रोजगारमा कामदार पठाउनका लागि सूचीकृत भएका संस्थालाई दलाल, विचौलिया र संगठित मानव तस्कर जस्ता शब्दको प्रयोगप्रति पनि सरोकार समाजले आपत्ति जनाएको छ।

प्रतिक्रिया दिनुहोस्