थिएटर मलमा आन्दोलन



राजधानीमा फेरि आन्दोलन हुने भएको छ। भोलि शक्रबारदेखि राजधानीको थिएटर मलमा आन्दोलन शुरु हुन लागेको हो। यो आन्दोलन पनि २०६२⁄०६३ को आन्दोलन जस्तै १९ दिनसम्म चल्नेछ।

यो पटक आन्दोलन सडकमा नभई सुन्धारास्थित काठमाडौं मलको नाटकघर थिएटर मलमा हुन लागेको हो। सौरभ कार्कीको योजनामा सुदाम सीकेले आन्दोलनको नेतृत्व गर्दै छन्।

२०४६ तथा ०६२⁄०६३ को जनआन्दोलन अुरुआत भएको विशेष र ऐतिहासिक दिन चैत २४ बाटै त्यस्तै झल्को दिने नाटक आन्दोलनको मञ्चन शुरु हुन लागेको हो। नाटक सौरभ कार्कीले लेखेका हुन् भने रंगकर्मी सुदाम सीकेले निर्देशन गरेका छन्।

आन्दोलनकारी युवाहरुमा भने कलाकारहरु रियर राई, संयोग गुरागाईं, इंगिहोपो कोइंच सुनुवार, सिजन दाहाल, मिलन कार्की, विनीता गुरुङ र सुदीप खतिवडा छन्। त्यस्तै नेपथ्यमा रहेर सघाउने आन्दोलनकारीहरुमा सुरेश कार्की, रामशरण रेग्मी, घनश्याम श्रेष्ठ, राजेन्द्र भट्ट, अमूल श्रेष्ठ, किरण चाम्लिङ, प्रेम शाक्य, सवनम चौधरीलगायत हुनेछन्।

आन्दोलनको मञ्चनका क्रममा नाटकघर बाहिर फोटो कलाकार दीपेन्द्र व्रजाचार्यले ०६२⁄०६३ को आन्दोलनमा खिचेका तस्वीरहरु पनि प्रदर्शन गरिने थिएटर मल नाटकघरका कला निर्देशक केदार श्रेष्ठले जनाएका छन्। उनले थिएटर मलमा राजनीति र समाजसँग जोडिएका नाटकहरु धेरै मञ्चन भए पनि यो विशेष हुने दाबी गरे। ०६२⁄०६३ कै आन्दोलन भोगेका, सहभागी भएकाहरु संलग्न यो नाटक सोही जनआन्दोलनको सम्झना र सम्मानमा मञ्चन गरिन लागेको उनले बताए। नाटक वैशाख ११ गतेसम्म मञ्चन हुने थिएटर मलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्