विश्वस्तरका नेताको तलबी लेखाजोखा



रामप्रसाद गौतम

विश्वका ठूला–ठूला देशका नेताहरुले कति तलब पाउँछन् भन्ने कुरा आमजिज्ञासाको विषय बन्न जान्छ। ख्याति र शक्ति सुन्दा ब्रह्माण्डलाई एक निर्णयमा अनेक प्रभाव पार्न सक्ने चीनका राष्ट्रपति सी जिङ पिङको हालको मासिक तलब ११,३८५ युयान अर्थात् १,८३० अमेरिकी डलर छ। यो पनि हालै ६२ प्रतिशत बढाएपछिको तलब हो। यसअघि चीनका राष्ट्रपतिको तलब मात्र १,२०९ अमेरिकी डलर मासिक थियो। यो एक आश्चर्यजनक आँकडा हो, जसले एक इशारामा सम्पूर्ण विश्वको आर्थिक धरातलमा खैलाबैला ल्याउन सक्छ, उसले वर्षभरिमा मात्र २३ लाख नेपाली तलब पाउनु आफैंमा हास्यास्पद छ। चीनभन्दा निकै सानो देश सिंगापुरका प्रधानमन्त्रीले विश्वकै सबैभन्दा बढी तलब पाउँछन्। उनको वार्षिक तलब १७ लाख अमेरिकी डलर छ। नेपालका राष्ट्रपतिको मासिक तलब हाल १,५०,४५० छ र चाइना डेली न्युज पेपरका अनुसार सी जिङ पिङले मासिक २,०१,००३ रुपियाँ तलब पाउने कुरा माथि नै उल्लेख गरियो।

तलब कसरी हिसाब हुन्छ ? भित्री कुरा थाहा भएन। दक्षिण एसियाकै सबैभन्दा ठूलो अर्थतन्त्र र विश्वकै टप टेन अर्थतन्त्रको धरोहर भारतका प्रधानमन्त्रीले पनि वर्षभरि काम गरेर मात्र ३०,३०० अ.ड. कमाउँछन्। त्यो शान–सौकात र अर्थतन्त्रको हिसाबले वार्षिकरुपमा मात्र ३०–३२ लाख मात्र तलब पाउनु आफैंमा आश्चर्य नै हो। रुसका राष्ट्रपतिको वैभवगत साम्राज्य हेर्ने हो भने उनको सम्पत्ति लागभग २ अर्ब डलरभन्दा बढी भएको अनुमान छ तर उनले पनि ५.७ मिलियन रुबल अर्थात् ११,९०० स्टर्लिङ पाउन्ड प्रतिवर्ष कमाउँछन्।

नाम र चर्चामा सर्वाधिक चर्चित र शक्तिमा पनि विश्वलाई एक ध्रुवीय बनाउन सक्षम अमेरिकी राष्ट्रपतिको तलब वार्षिक ४ लाख डलर छ तर वर्तमान अमेरिकी राष्ट्रपतिले चाहिँ वर्षको १ डलर मात्र तलब लिने घोषणा गरिसकेका छन्। यसरी हेर्दा ठूला–ठूला नेताहरुको विश्वस्तरीय वजन तलबले होइन, निर्णय अधिकारले मापन हुने रहेछ। सम्पत्तिभन्दा ठूलो शक्ति नै रहेछ र अझै ठूलो शायद मानव उपयोगी ज्ञान। किनकि आइन्स्टाइनको लामो जीवन एउटा क्लर्कको रुपमै बित्यो, जसको तलब अकल्पनीय थोरै भएको कुरा उनको जीवनीहरुमा पढ्न पाइन्छ।
माइक्रो सफ्टका सीईओले वार्षिक ८४.३ मिलियन डलर कमाउँछन् तर वार्षिक २,३४,००० अ.ड. कमाउने जर्मन चान्सलर एन्जिला मर्केलको विश्वव्यापी पहिचानको अगाडि एउटा सीईओको हैसियत के होला र ? पक्कै निकै कम। तर तलबमा आकाश–जमिनको फरक छ। केही राजनीतिज्ञहरुले नाजायज कमाइ पनि गर्दछन् तर अधिकांश उच्च नैतिकतमा बस्ने हुँदा राजनीतिज्ञहरुलाई पैसाको कारणले भन्दा नेतृत्व क्षमताको कारणले मात्र विश्वले मान्दछ, चिन्दछ। तलबकै कुराले हेर्ने हो भने निकै थोरैले नाम सुनेको र निकै थोरै चर्चामा रहेको नान्ट वेष्ट कम्पनीका व्यवस्थापक प्याट्रिक सुङ सियोङले सन् २०१५ मा १४७.६ मिलियन डलर रकम तलब बुझेका थिए।
यसरी हेर्दा राजनीतिज्ञको तलब नाम चलेका खेलाडी, सीईओको दाँजोमा निकै कम छ। फुटबल खेलाडी लियोलिन मेसी, क्रियस्टिनो रोनल्डोहरुको तलब मिलियनौं डलरको हाराहारीमा हुन्छ। पैसा कसले कहाँ कसरी कामउँछ भन्ने कुरा आश्चर्यजनक छ। केही दिनअगाडि भारतीय क्रिकेट खेलाडी विराट कोहलीले पुमा भन्ने कम्पनीसँग ११० करोड भारतीय रुपियाँको विज्ञापन सम्झौता गरे। आखिर त्यो ११० करोड रुपियाँ कम्पनीले ग्राहकबाट असुल्ने होला। यद्यपि यो तलब होइन। तर मानिसले कसरी र कस्तो अध्ययन तथा तालिमबाट त्यो क्षमता ग्रहण गर्दछ, जसले गर्दा लाखौं डलर तलब खान सक्ने हैसियत बनाउँछ भन्ने विषय आफैंमा आश्चर्यजनक छ।

आजको चलायमान विश्वमा चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्रीको दाँजोमा नेपालको वैश्विक हैसियत निकै थोरै छ। तर चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री र नेपालका राष्ट्रपतिको तलब बढीमा ५१ हजारदेखि ६० हजारभन्दा कमको फरक देखिन आँउछ। भारतका भूतपूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम कुनै विश्व विद्यालयमा पढाउँदा पढाँउदै लडेर बितेका हुन्। अमेरिकामै आजसम्मका लोकप्रिय मानिएका भूतपूर्व राष्ट्रपति ओबामाले कुनै निजी कम्पनीमा जागिरमा ज्वाइन भएको खबर प्रकाशित भएको थियो। आखिर मनग्गे तलब हुने भए उनीरुलाई तत्–तत् कार्य गर्न जरुरी हुँदैनथ्यो होला।

यहाँ उल्लिखित तलबी आँकडाहरु ती देशका आधिकारिक वेबसाइटबाट लिइएको हो तर कम्पनीका सीईओको तलब प्रायः आधिकारिकरुपमा गोप्य राखिएको हुन्छ। विभिन्न विश्वस्त स्रोतको आधारमा यस्ता तलबी कुराहरु बाहिर आउँछन्। वास्तवमा मननीय कुरा के छ भने, जति भनिएको छ त्यति तलबले उनीहरुको घरखर्च चलाउन सम्भव छ वा छैन ? यो प्रश्न पेचिलो छ। नेपालका प्रधानमन्त्रीको तलब मासिक ७७ हजार छ। उनको कार्यालय तथा सरकारी आवासमा चिया, चिनी र दुधमै ७७ हजार रुपियाँभन्दा बढी खर्च हुन्छ होला। बाँकी खर्च कसरी चल्छ ? यहाँ सभासद, सचिव, सहसचिव आदिको तलब पनि त्यस्तो अचाक्ली देखिँदैन तर उनीहरुको जीवनस्तर, भवन, वाहन, छोराछोरीका लागि तिर्ने शैक्षिक शुल्क आदिको लेखाजोखा गर्ने हो भने ठूलो अन्तर छ। यही तलब र जीवनस्तरबीचको अन्तर एवं यसको तालमेल नै शायद अहिले देखिएको सबै प्रकारको बेथितिको कारक हो कि ?

प्रतिक्रिया दिनुहोस्