कान्तिलोकपथको कामले लियो तीव्रता



सुरेश तामाङ, काठमाडौ
कान्तिलोकपथ सडक योजनाको कामले तीव्रता पाएको छ। योजनाको कामले तीव्रता पाएसँगै आउँदो जेठसम्म करिब १५ किमि सडक खण्ड कालोपत्रे हुने आयोजनाले दाबी गरेको छ।

योजनाका प्रमुख देवेन्द्र शाहले कान्तिलोकपथअन्तर्गतको ललितपुर र मकवानपुर सडक खण्ड गरी करिब १५ किमि सडक खण्ड कालोपत्रे हुन लागेको जानकारी दिनुभयो। ‘यो वर्षको वैशाखभित्र ललितपुरको टीकाभैरव पुलदेखि ४ किमि आगामी जेठभित्र हेटौँडाको बुद्धचोकदेखि पूर्वतर्फको १० किमि सडक पिच हुँदै छ –योजना प्रमुख शाहले भन्नुभयो।

‘ठेकेदारले निश्चित समयभित्र सकिने गरी काम अगाडि बढाइसकेको छ। अब छिटपुटबाहेक योजनाको काम अगाडि बढिसकेको छ। तोकिएकै समयमा कान्तिलोकपथबाट छोटो समयमै हेटौंडा काठमाडौं यात्रा गर्न सकिन्छ –उहाँले भन्नुभयो।

उहाँका अनुसार निर्माण कार्य सकिएलगत्तै ९० किमिको काठमाडौं–हेटौंडा सडक सञ्चालनमा आउनेछ। तर कान्तिलोक पथको सडक चौडा पार्ने काम भने सकिएको छैन। सडक चौडाअन्तर्गत मकवानपुरमा ५ र ललितपुरमा ४ खण्ड गरी चौडा गर्ने कामलाई तीव्रता दिएको छ।
विस्फोटक पदार्थ नहुँदा पनि केही सडक खण्डको चौडा गर्ने काम रोकिएको छ। पटकपटक औपचारिकरूपमा ताकेता गरे पनि विस्फोटक पदार्थ नपाएको योजना प्रमुख शाहले गुनासो गर्नुभयो।

हालसम्मको सडक चौडाको प्रगति ५० प्रतिशत मात्रै भएको उहाँले बताउनुभयो। त्यस्तै पर्खाल⁄ग्याबिन तथा नाली निर्माणको प्रगति भने ३० प्रतिशतमै सीमित छ। २०७५ असार मसान्तसम्म कान्ति लोकपथको काम सक्ने अन्तिम मिति भए पनि हालसम्म ४० प्रतिशत मात्रै काम सकिएको आयोजनाको दाबी छ।

ट्रइक खन्दै गरेको दु्रत मार्ग र अन्य राजमार्गहरूको वैकल्पिक मार्गका रुपमा लिँदै आएको छ। त्यससँगै २०१३ सालमा शुरू भएर सुस्ताएको सडक विस्तारको कामलाई राज्यले पनि पछिल्लो आवदेखि प्राथमिकतामा राखेको छ। त्यसबेला राजा महेन्द्रले शिलान्यास गरेपछि यो सडकको निर्माण शुरू गरिएको थियो।

शिलान्यास भएको ६० वर्ष बितिसक्दा पनि सडकको कामले तीव्रता नपाएपछि अलमलमा परेका स्थानीयको अहिले भने केही आशा पलाएको छ। उक्त योजनालाई सरकारले पर्याप्त बजेटको समेत व्यवस्था गरेको छ।

यस आवमा करिब ६० करोड बजेट छुटइइसकेको छ भने हालसम्म आयोजनाले ८६ करोड खर्चसमेत गरिसकेको छ। लोकपथ विस्तार भई सञ्चालनमा आउन ३ अर्ब ३७ करोड बजेट लाग्ने अनुमान गरेको छ।

ललितपुरका दुर्गम दक्षिणी–पूर्वी भेग र मकवानपुरका उत्तरी भेगका बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याउने विश्वास गरिएको छ। मुख्य व्यापारिक नाका वीरगन्जलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने भएकाले वीरगन्ज नाकाबाट नेपाल तथा भारतबीचको व्यापारिक वस्तु तथा सेवा विस्तारमा समेत यो मार्गले योगदान पुर्याउने अपेक्षा गरिएको छ।

उत्तर दक्षिण लिङ्क काठमाडौं निजगढ द्रुतमार्ग र ड्राइपोर्टमा बन्ने एकीकृत भन्सार जाँचस्थल बन्न सक्छ। पूर्व–पश्चिम रेलमार्ग, निजगढ विमानस्थल, सिमरानजिक बन्ने विशेष आर्थिक क्षेत्रमा सहयोग पुर्याउन सक्छ। लोकमार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो (चापागाउँ दोबाटो) हुँदै सुनाकोठी, चापागाउँ, टीकाभैरव, तीनपाने भञ्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आले भञ्ज्याङ, बुद्धचोकसम्म ९० किमी ३ घण्टामा पुग्ने योजनाको दाबी छ।

प्रतिक्रिया दिनुहोस्