तेस्रो ईपीजी बैठक शुरू १९५० को सन्धि पुनरवलोकनका लागि छलफल



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को तेस्रो बैठक बुधबारबाट शुरू भएको छ। उक्त बैठकमा मुख्यतया सन् १९५० को शान्ति तथा मैत्री सन्धि, द्विपक्षीय व्यापार तथा पारवहन, जलस्रोतलगायतका विषयमा छलफल भएको छ।

बुधबारको बैठकमा ईपीजीका नेपाली सदस्यहरू नीलाम्बर आचार्यले सन् १९५० को सन्धिबारे, व्यापार⁄वाणिज्यबारे डा. राजन भट्टराई र जलस्रोतबारे सूर्यनाथ उपाध्यायले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

ती विषयमध्ये १९५० को सन्धिका बारेमा विस्तृत छलफल भए पनि बैठक सो विषयको निष्कर्षमा पुग्न नसकेको बताइएको छ।

यसअघि भारतीय पक्षको आग्रहमा दुईपटक स्थगित भएको तेस्रो बैठक बुधबार शुरू भएको हो। बुधबारको बैठकमा नेपाली पक्षले १९५० को सन्धिका धारा संशोधन गर्दै सन्धिलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएको थियो भने नेपालले सन्धिका असमान धाराहरू हटाउन गरेको आग्रहमा भारतीय पक्ष सकारात्मक रहेको बताइएको छ।

शान्ति तथा मैत्री सन्धिका सबै धाराबारे दुवै पक्षले विस्तृत छलफल गरेकाले बैठकले सो विषयको किनारा लगाउन नसकेको ईपीजी सचिवालय सचिव यादव खनालले बताउनुभयो।

बिहीबार सोही विषयसहित नेपालले उठाएका अन्य विषयमा भारतीय पक्षले विस्तृतमा आफ्नो धारणा राख्ने उहाँले जानकारी दिनुभयो। दुवै मुलुकबीच विगतमा भएका सन्धि⁄सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गत वर्ष गठित समूहको पहिलो र दोस्रो बैठकमा पनि १९५० को सन्धिबारे छलफल भएको थियो।

२ वर्षे कार्यअवधि तोकिएको समूहको बैठक हरेक ३⁄३ महिनामा एक अर्को मुलुकमा बस्ने भनिए पनि पहिलो बैठक गत असार तेस्रो साता काठमाडौंमा र दोस्रो बैठक असोज तेस्रो साता दिल्लीमा सम्पन्न भएको थियो।
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा रहेको नेपालतर्फको समूहमा पूर्वमन्त्री नीलाम्बर आचार्य, अख्तियारका पूर्वआयुक्त सूर्यनाथ उपाध्याय र नेकपा एमालेका सांसद डा. राजन भट्टराई सदस्य हुनुहुन्छ।

त्यसै गरी भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी संयोजकत्वको भारतीय टोलीमा प्राध्यापकद्वय बीसी उप्रेती र महेन्द्र पी. लामा र नेपालका लागि पूर्वभारतीय राजदूत जयन्तप्रसाद सदस्य हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्