बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती तत्काल बजारबाट फिर्ता ल्याउन निर्देशन



प्रशान्त वली, काठमाडौं
स्वास्थ्य संवेदनशील विषय हो। कुनै रोग लाग्यो भने रोगको पहिचानमार्फत् बिरामीहरूले औषधि सेवन गर्छन्। तर, बिरामीले सेवन गर्ने त्यही औषधिहरू गुणस्तरहीन भएको खुल्न आएको छ। जसले गर्दा ज्यान बचाउन र स्वस्थ हुन औषधि खानेहरू औषधि गुणस्तरहीन हुँदा मरिने पो हो कि भन्ने शंका उब्जिन थालेको छ।

नेपाली बजारमा बिक्री भइरहेका केही कम्पनीको औषधि गुणस्तरहीन भएको पत्ता लागेको छ। औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०७३⁄०७४ मा गरेको अनुगमनका क्रममा तीनवटा कम्पनीले बिक्री गरिरहेको औषधिको गुणस्तर निकै खस्किएको खुल्न आएको हो।

औषधि व्यवस्था विभागको नियमित कार्यक्रमअन्तर्गत अनुगमनका क्रममा दुई भारतीय र एक नेपाली कम्पनीका औषधि मापदण्ड विपरीत रहेको विभागका सूचना अधिकारी सन्तोष केसीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। विभागका अनुसार तीनवटा कम्पनीले उत्पादन गरेका मधुमेह, ग्यास्ट्राइटिस र सुईको माध्यमबाट दिइने इन्जेक्टेबल औषधिमा समस्या देखिएको हो।

विभागले जारी गरेको सूचनामा भनिएको छ– ‘बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमुना परीक्षण गर्दा उत्पादकबाट उत्पादित औषधिहरू न्यून गुणस्तर पाइएकाले ती औषधि औषधि ऐन २०३५ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण १५ दिनभित्र विभागमा पेस गर्न आग्रह गर्दछौं। गुणस्तरहीन औषधिहरू सिफारिस बिक्री वितरण तथा प्रयोगसमेत नगर्न नगराउनुहुन अनुरोध गरिन्छ।

विभागले मापदण्डविपरीतका औषधी तत्काल बजारबाट फिर्ता ल्याउन र त्यसको विवरण १५ दिनभित्र बुझाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिइसकेको छ।

विभागका सूचना अधिकारी केसीले भन्नुभयो– ‘हाम्रो नियमित अनुगमनका क्रममा ती कम्पनीहरूले स्याम्पलिङ गर्ने क्रममा औषधीहरू गुणस्तरहीन भएको फेला पार्यौं। कम्पनीले बनाएको औषधि मापदण्डविपरीत भएकाले बजारबाट तत्काल फिर्ता गर्न आग्रह गरेका छौं।

‘१५ दिनभित्र विभागमा विवरण पेस हुन्छ। र, त्यस प्रकारका औषधीहरू कम्पनीका कर्मचारीको उपस्थितिमा कम्पनी आफैले नष्ट गर्छ। अनुगमनका क्रममा भारतको हिन्दूस्तान मेडिसिन प्रालि र वर्कहार्डट् लिमिटेड र नेपालको विजयदीप ल्याब्रोटोरिजका औषधी गुणस्तरहीन भएको पाइएको हो।

हिन्दूस्तान मेडिसिनको डेक्स्ट्रोज इन्जेक्सन आईपी ५० नामको औषधीमा समस्या भेटिएको छ। सुईको माध्यमबाट दिइने यो औषधिको ब्याच नम्बर २८ मा समस्या पाइएको हो।

भारतकै अर्को कम्पनी वर्कहार्डट्ले उत्पादन गरेको ग्यास्ट्राइटिसको औषधी मापदण्ड विपरीतको पाइएको हो। सो कम्पनीले प्रोर्याब २० नाममा निकालेको जेआर १०२७६ ब्याचका औषधी मापदण्ड विपरीत भएको विभागले बताएको छ।
यस्तै नेपाली कम्पनी विजयदीपले उत्पादन गरेको मधुमेहको औषधीमा समस्या भेटिएको छ। विजयदीपले भि–ग्लिम–२ नाममा निकालेको भिजी २–०१४ ब्याचका औषधी मापदण्ड विपरीतको पाइएको हो।

विभागले झाडापखाला तथा त्यस्तै कमजोर अवस्थाका बिरामीलाई तत्काल शक्ति दिनका लागि प्रयोग हुने डेक्सट्रोज इन्जेक्सन, सुगरका बिरामीले प्रयोग गर्ने औषधि भि ग्लाम तथा अल्सरका बिरामीले प्रयोग गर्ने प्रोराब २० औषधीमा गुणस्तर नभएकाले फिर्ता गर्न निर्देशन दिएको छ। विभागले गरेको पोस्ट मार्केटिङ सर्भेबाट औषधीको गुणस्तर कमजोर भएको पाएपछि रिकल अर्थात् फिर्ता गर्न भनिएको हो।

प्रतिक्रिया दिनुहोस्