प्रमुख ३ दलमा मेयरका आकांक्षी बढी



यमलाल भुसाल, बुटवल
सरकारले वैशाख ३१ गतेलाई घोषणा गरेको आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा प्रमुख ३ दलमा मेयर पदका लागि आकांक्षी बढी देखिएका छन्।

सरकारले हालै मात्रै उपमहानगरपालिका घोषणा गरेको बुटवलमा यस अगाडि एकपटक नेपाली कांग्रेसका उम्मेदवारले मेयर पदमा चुनाव जितेका थिए भने एकपटक एमालेका उम्मेदवारले चुनाव जितेका थिए। २०४६ सालको राजनीतिक परिवर्तनपछि पहिलोपटक ०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार स्वर्गीय सूर्यप्रसाद प्रधानले मेयर पदमा चुनाव जित्नुभएको थियो भने ०५४ को चुनावमा एमालेका नेता भोजप्रसाद श्रेष्ठले चुनाव जित्नुभएको थियो। त्यसयता स्थानीय निकायमा चुनाव हुन सकेको थिएन।

०६२⁄६३ को राजनीतिक परिवर्तन र अघिल्लो वर्ष मात्रै संघीय संरचनासहितको संविधान जारी भएपछि मुलुकमा पहिलोपटक स्थानीय तहमा निर्वाचन हुन लागेको हो। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि राजनीतिक दलहरूमा एक प्रकारको उत्साह थपेको देखिन्छ भने अर्कोतर्फ अब टिकटका लागि नेताहरूको दौडधुप पनि बढेको छ।

आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसमा मेयर पदका आकांक्षी अन्य दलमा भन्दा बढी देखिएका छन्। नेपाली कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको मेयर पदमा क्षेत्र नं. ४ का सभापति हरि लम्साल, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, महाधिवेशन प्रतिनिधि रामबहादुर कार्की, युवराज गिरी, काजिमान श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह, पूर्वक्षेत्रीय सभापति हरिबहादुर आचार्यले आकांक्षा व्यक्त गर्नुभएको छ। त्यस्तै बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, पुराना जनप्रतिनिधि रामेश्वर श्रेष्ठ, नेता हरिध्वज मल्लको नाम पनि चर्चामा छन्।

संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले उम्मेदवार छनोटका लागि जिल्लामा कार्यदल बनाएको छ। जसमा पार्टी सभापति, पार्टी अधिवेशनमा सभापतिका प्रत्यासी, सांसदका उम्मेदवार तथा क्षेत्रीय सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी रहनेछन्। एक पदका लागि आकांक्षा राख्नेहरू धेरै भएकाले कांग्रेसमा मिलाउन पनि उत्तिकै समस्या छ।

त्यस्तै नेकपा एमालेमा बुटवल उपमहानगरपालिकाको मेहर पदका लागि पूर्वमेयर भोजप्रसाद श्रेष्ठ, व्यावसायिक पृष्ठभूमिका गोपाल राना, औषधि व्यवसायी बाबुराम भट्टराई, मजदुर नेता कमल गौतम, जिल्ला अध्यक्ष शिव सुवेदी र पत्रकारिता पृष्ठभूमिका बालकृष्ण चापागार्इंको नाम पनि चर्चामा छ।

एमालेले उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवारको चयन केन्द्रीय समितिले गर्ने र नगर तथा गाउँपालिकाको मेयरको उम्मेदवार प्रदेश समितिले गर्ने प्रावधान बनाएको छ।

बुटवल उपमहानगरपालिकामा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमाले बीचमै हुने देखिन्छ। यद्यपि नेकपा माओवादी केन्द्रमा पनि उम्मेदवारको चर्चा देखिन्छ। नेकपा माओवादी केन्द्रमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद बन्जाडे र क्षेत्र नं. ४ का सहसंयोजक हरि घिमिरे, कृष्ण पोखरेल, नगर इन्चार्ज सुदीप न्यौपानेको चर्चा छ। बुटवलमा नेकपा माओवादी केन्द्र कमजोर भएको र पार्टीले पनि उपर्युक्त दलसँग चुनावी तालमेल गर्न सकिने नीति लिएकाले चुनावी तालमेल हुन सक्ने तर कोसँग कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल भई नसकेको क्षेत्रीय सहसंयोजक घिमिरेले बताउनुभयो।
संविधानसभाको चुनावमा केन्द्रीय नेता बाबुराम भट्टराईले समेत प्रतिस्पर्धा गर्दा ठूलो मत अन्तरले चुनाव हारेकाले पनि माओवादीको सम्भावना नदेखिएको कतिपयको विश्लेषण छ। साना दलले प्रतिस्पर्धा गरे पनि उनीहरूको नतिजा खासै नआउने पक्का छ। यसले पनि मुख्य ठूला दुई दलले पहिले उम्मेदवार तय गर्ने र त्यसपछि साना दललाई मिलाउने रणनीति बनाएको बुझिन्छ।

रूपन्देही जिल्लामा १६ वटा स्थानीय तह छन्। जसमा सबैभन्दा बढी चर्चामा बुटवल उपमहानगरपालिका छन्। बुटवल पूर्व–पश्चिम र उत्तर दक्षिणको संगम पनि भएको र बुटवलले केन्द्रसम्म प्रभाव राख्ने भएकाले पनि बुटवलमा मेयर बन्ने आकांक्षा राख्नु स्वाभाविकै हो।

१९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा करिब ६६ हजार ९० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख होमनाथ गौतमले बताउनुभयो। बुटवल उपमहानगरपालिकामा निर्वाचन कार्यालयले २० वटा मतदान केन्द्र निर्धारण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्