म्यादीमा मधेसी महिलाको आकर्षण रोकेन गर्मीले छेकेन बन्धनले



कृष्णउदास खनाल, वीरगन्ज
सदरमुकाम वीरगन्जबाट करिब ३५ किलोमिटर पश्चिममा पर्ने गादी बेल्वाबाट आएकी प्रियांका देवी साह म्यादी प्रहरीमा फाराम बुझाएपछि अहिले अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जको चौरमा म्यादी प्रहरीका लागि चैत महिनाको उखरमाउलो घाममा पनि खटिरहेकी छन्।

चुलो र चौकोमा अझै मधेसी मूलका महिलालाई त घरबाहिरसमेत जान नदिने पुरुषवादी सोचलाई चुनौती दिँदै उनी म्यादीमा भर्ना हुन चर्को घाममा लाइनमा बसेकी हुन्। उनले राजनीतिलाई पनि राम्रोसँग बुझे जसरी मधेसवादी दलहरू पनि चुनावमा भाग लिनको विकल्प नभएको बताउँदै थिइन्। उनी भन्दै थिइन्– ‘मधेसवादी दलले चुनावमा भाग लिनैपर्छ। विगत केही वर्ष पहिले घरबाहिर निस्किन अप्ठ्यारो मान्ने मधेसी महिला अहिले विस्तारै मैदानमा उत्रिन थालेका छन्। पुरुषको वर्चस्व रहेको सुरक्षा निकायमा मधेसी महिलाले म्यादी प्रहरीमा जानका लागि पर्साबाट ठूलो संख्यामा आवेदन बुझाएका छन्। आवेदन बुझाउनेमा युवती मात्रै नभई गृहणीसमेत रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २ सय १० जना महिलाले म्यादी प्रहरीका लागि आवेदन दिएकोमा अधिकांश मधेसी मूलका महिलाले आवेदन बुझाएर तालिम लिइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो।

त्यसरी नै पर्साकै मानेपुरकी किस्मत देवीले पनि चुनावको विकल्प खोज्न नहुने तर्क गर्दै थिइन्। उनी भन्दै थिइन्– ‘मधेसका महिला पनि कोही भन्दा कम छैनन् भन्ने देखाउनका लागि म्यादीमा भर्ना हुन आएकी हुँ। मधेसकै हक अधिकारका लागि भन्दै कति मधेसी जनताको ज्यान गए पनि केही नपाएको दुःख व्यक्त गर्दै यो स्थानीय तहको चुनाव सबैका लागि भएकाले मधेसी दलले चुनाव अवरोध नगरी चुनावमा सहभागी हुन आग्रह गर्दै थिइन् अर्की महिला सुर्जाहाकी तारा देवी तिवारी। चुनाव बिथोल्न खोजे लाठी चलाउन पछि नपर्ने बताउँछिन् वीरगन्ज छपकैयाकी पछिया देवी। पर्साको ग्रामीण क्षेत्र गर्दौल, सुर्याहा, कटी बलुवा, मानिपुरलगायतका क्षेत्रबाट महिलाहरू म्यादी प्रहरीमा छनोट हुन उत्सुकताका साथ अञ्चल प्रहरी कार्यालय पर्साको चौरमा तालिम लिइरहेका थिए। २२ वर्षदेखि ५० वर्षसम्मका मधेसी महिलाहरू छनोट तालिमा सहभागी छन्। आफूहरू आउँदो स्थानीय तहको चुनावमा स्वच्छ, निष्पक्ष र मधेसी महिलाहरूको सुरक्षित तरिकाले मतदान गराउन म्यादी प्रहरीमा भर्ना हुन आएको बताउँछन्। म्यादी प्रहरीमा महिलाहरू खटिएपछि महिला मतदाताहरूलाई मतदान गर्न सहज हुने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्