१८ प्रतिशत बालबालिका विद्यालय बाहिर



नेपाल समाचारपत्र
राजविराज
सप्तरीमा ५ देखि १२ वर्ष उमेर समूहका १८ दशमलव ५० प्रतिशत बालवालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ। सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला शिक्षा कार्यालय सप्तरीले बुधबार आयोजना गरेको विद्यालय भर्ना अभियान २०७४ को तयारी बैठकमा जिशिअ दोलराज पाण्डेले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन्।

यसै गरी ५ देखि ९ वर्ष उमेर समूहका ५ प्रतिशत बालबालिका पनि विद्यालयको पहुँच बाहिर रहेको उनले जानकारी दिए। डोम, मुसहरलगायतका दलित बस्तीमा अहिले पनि विद्यालय नजाने बालबालिकाको संख्या ठूलो रहेको भन्दै पाण्डेले ती समुदायमा बालबालिकाको जन्मदर्ता नगराएकाको संख्या पनि उल्लेख्य रहेको बताए।

आगामी वशाख २ देखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने र त्यसपछि घरदैलो अभियानमार्फत बालबालिका विद्यालय भर्ना गर्ने कार्यक्रम रहेको तयारी बैठकमा जानकारी दिइयो। गरिबी, बेरोजगारी र अभिभावकमै शिक्षाप्रति चेतना अभावले गर्दा सप्तरीमा विद्यालय नपुग्ने र बीचैमा कक्षा छोड्ने बालबालिकाको संख्या बढी भएको पाण्डेले बताए। उनले भने– ‘भर्ना भएकामध्ये पनि ४० प्रतिशत मात्रै नियमित कक्षामा आउने गरेका छन्, बीचमै पढाइ छाड्ने प्रवृत्ति पनि चुनौतीका रूपमा छ।

प्रतिक्रिया दिनुहोस्