बुटवल उप–महानगरपालिकामा मेयर बन्न दौडधुप



यमलाल भुसाल, बुटवल

सरकारले वैशाख ३१ गतेका लागि घोषणा गरेको आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उप–महानगरपालिकामा प्रमुख तीन दलमा मेयर पदका लागि आकांक्षी बढी देखिएका छन्।

सरकारले हालै मात्रै उप–महानगरपालिका घोषणा गरेको बुटवलमा यस अगाडि एक पटक नेपाली कांग्रेसका उम्मेदवारले मेयर पदमा चुनाव जितेका थिए भने एक पटक एमालेका उम्मेदवारले चुनाव जितेका थिए। २०४६ सालको राजनीतिक परिवर्तनपछि पहिलोपटक ०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार स्वर्गीय सूर्यप्रसाद प्रधानले मेयर पदमा चुनाव जितेका थिए भने ०५४ को चुनावमा एमालेका नेता भोजप्रसाद श्रेष्ठले चुनाव जितेका थिए। त्यस यता स्थानीय निकायमा चुनाव हुन सकेको थिएन।

०६२⁄०६३ को राजनीतिक परिवर्तनसँगै संघीयता सहितको संविधान जारी भएपछि मूलुकमा पहिलोपटक स्थानीय तहमा निर्वाचन हुनलागेको हो। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि राजनीतिक दलहरुमा उत्साह थपिएको मात्र छैन टिकटका लागि नेताहरुको दौडधुप पनि बढेको छ।

आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उप–महानगरपालिकामा नेपाली कांग्रेसमा मेयर पदका आकांक्षी अन्य दलमा भन्दा बढी देखिएका छन्। नेपाली कांग्रेसबाट बुटवल उप–महानगरपालिकाको मेयर पदमा क्षेत्र नं. ४ का सभापति हरि लम्साल, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, महाधिवेशन प्रतिनिधि रामबहादुर कार्की, युवराज गिरी, काजीमान श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह, पूर्वक्षेत्रीय सभापति हरिबहादुर आचार्यले आकांक्षा देखाएका छन्। त्यस्तै बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, पुराना जनप्रतिनिधि रामेश्वर श्रेष्ठ, नेता हरिध्वज मल्लको नाम पनि चर्चामा छन्। कांग्रेसले उम्मेदवार छनौटका लागि जिल्लामा कार्यदल बनाएको छ। जसमा पार्टी सभापति, पार्टी अधिवेशनमा सभापतिका प्रत्यासी, सांसदका उम्मेदवार तथा क्षेत्रीय सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी रहनेछन्। एक पदका लागि आकांक्षा राख्नेहरु धेरै भएकाले कांग्रेसमा मिलाउन पनि उत्तिकै समस्या छ।

त्यस्तै नेकपा एमालेमा बुटवल उप–महानगरपालिकाको मेहर पदका लागि पूर्वमेयर भोजप्रसाद श्रेष्ठ, व्यावसायिक पृष्ठभूमिका गोपाल राना, औषधि व्यवसायी बाबुराम भट्टराई, मजदुर नेता कमल गौतम, जिल्ला अध्यक्ष शिव सुवेदीको नाम पनि चर्चामा छन्। एमालले उप–महानगरपालिका र महानगरपालिकाको उम्मेदवारको चयन केन्द्रीय समितिले गर्ने र नगर तथा गाउँपालिकाको मेयरको उम्मेदवार प्रदेश समितिले गर्ने प्रावधान बनाएको छ।

त्यसै गरी सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रमा मेयरमा कसलाई टिकट दिने भन्ने बहस शुरु भएको छ। नेकपा माओवादी केन्द्रमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद बन्जाडे र क्षेत्र नं. ४ का सहसंयोजक हरि घिमिरे, कृष्ण पोखरेल, नगर इन्चार्ज सुदीप न्यौपानेको चर्चामा छन्। माओवादीले चुनावी तालमेल गरेर चुनावमा लड्ने देखिएको छ। चुनावी तालमेल हुनसक्ने तर कोसँग कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल नभइसकेको क्षेत्रीय सहसंयोजक घिमिरेले बताए।

संविधानसभाको चुनावमा केन्द्रीय नेता बाबुराम भट्टराईले समेत प्रतिस्पर्धा गर्दा ठूलो मतअन्तरले चुनाव हारेकाले पनि माओवादीको सम्भावना नदेखिएको कतिपयको विश्लेषण छ। साना दलले प्रतिस्पर्धा गरे पनि उनीहरुको नतिजा खासै नआउने पक्का जस्तै छ। यसले पनि मुख्य ठूला दुई दलले पहिले उम्मेदवार तय गर्ने र त्यसपछि साना दललाई मिलाउने रणनीति बनाएको बुझिन्छ।

रूपन्देही जिल्लामा १६ वटा स्थानीय तह छन्। जसमा सबैभन्दा बढी चर्चामा बुटवल उप–महानगरपालिका छ। बुटवल पूर्व–पश्चिम र उत्तर–दक्षिणको संगम पनि भएको र बुटवलले केन्द्रसम्म प्रभाव राख्ने भएकाले पनि बुटवलमा मेयर बन्ने आकांक्षा राख्नु स्वभाविकै हो।

१९ वटा वडा रहेको बुटवल उप–महानगरपालिकामा करिब ६६ हजार ९० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख होमनाथ गौतमले बताए। बुटवल उप–महानगरपालिकामा निर्वाचन कार्यालयले २० वटा मतदान केन्द्र निर्धारण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्