डोटीमा ठूला दललाई अन्तरघातको डर



विमल विष्ट, डोटी

आसन्न स्थानीय तहको निर्वाचनको जोड–घटाउमा लागेका डोटीका दलहरु पार्टीभित्रकै अन्तरघातदेखि त्रसित भएका छन्। दुई दशकपछि हुन लागेको निर्वाचनमा पार्टीभित्रको गुटबन्दीसँगै उम्मेदवारका आकांक्षीहरुको संख्या पनि ह्वात्तै बढेपछि ठूला दलहरु बढी त्रसित छन्। चियापसल, चोक, बजारमा विपक्षीभन्दा पार्टीभित्रकै आकांक्षीहरुको खुलारूपमा आलोचना भइरहेको छ।

दीपायलका स्थानीय सर्वजित देउवाले भने– ‘अहिलेको चुनावमा पार्टीभित्र केन्द्रदेखि गाउँसम्म रहँदै आएको धार त छँदै छ आकांक्षीहरु व्यक्तिगतरूपले पनि आलोचनामा उत्रँदा पार्टीभित्रै अन्तरघात हुने सहजै अनुमान गर्न सकिन्छ। नेपाली कांग्रेस डोटीले पार्टी कार्यालयमा तीन दिनअघि चुनावी रणनीतिबारे केही मुख्य नेता कार्यकर्तासँग बैठक डाकेको थियो। तर, बैठकमा स्थानीय तहका आकांक्षीहरु यति उपस्थित भएका थिए कि पार्टी कार्यालयको हलमा ठाउँ नभएर जिल्ला समन्वय समितिको सभाहलमा बैठक राख्न बाध्य भयो।

हलभित्र पनि ठाउँ नभएर बाहिर बसेका कार्यकर्ताले नेताहरुको आलोचना गर्नुका साथै उम्मेदवारीका लागि प्रस्ताव राखेका थिए। कांग्रेसका नेता भूमिराज बडुले भने– ‘कसैले कसैलाई टेर्ने अवस्थामा छैनन्, आकांक्षा राख्ने सबैले मत दिने हो भने पनि कांग्रेसले डोटीमा पूरै स्थानीय तह कब्जा गर्छ तर दुर्भाग्य आफूबाहेक अरूलाई स्वीकार गर्न नै नसक्ने अभिव्यक्तिले पार्टीलाई त्रसित पारेको छ।

नेपाली कांग्रेसमा संस्थापन र पौडेल पक्षको गुटबन्दीसँगै व्यक्तिगतरूपमा आकांक्षीहरुबीच बढी विवाद छ। कांग्रेसमा मात्रै एक गाउँपालिकामा मात्रै ३ देखि ८ जनासम्म आकांक्षी छन् भने नगरपालिकामा ४ देखि ७ जनासम्म आकांक्षी छन्। कांग्रेसमा युवा पुस्ता बढी आक्रोशमा देखिए पनि विगतको स्थानीय निकायको निर्वाचन अनुभव बटुलेकाहरुसमेत त्यतिकै आलोचनामा उत्रेका छन्।

उता संसद्को दोस्रो ठूलो दल एमालेको पनि अवस्था उस्तै छ। पार्टीभित्रको गुटबन्दीले दुई धारबीच पानी बाराबारको अवस्था छ। एकपक्षले टिकट पाए अर्को पक्ष विद्रोहमा उत्रने चेतावनी दिँदै आएका छन्। जिल्लादेखि गाउँ तहसम्म दुवै गुट टिकट आफ्नो पक्षमा पार्न एमालेभित्र प्यानल बनाउने तयारीमा कुदिरहेका छन्। एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल र क्षेत्र नं. २ का सांसद प्रेम आलेमगर बीचको स्पष्ट गुटबन्दीले अन्तरघात हुनसक्ने एमालेभित्रका कार्यकर्ताहरु स्वीकार्छन्।
दीपायल सिलगढी नगरपालिकाका पूर्वउपमेयर तथा आसन्न निर्वाचनमा एमालेबाट मेयर पदका आकांक्षी प्रेम शाहले भने– ‘सबैभन्दा संगठन बलियो र तल्लोतहसम्म भएको पार्टी एमाले नै हो, संगठनहरु एक ठाउँमा उभिएर लड्ने हो भने अरूले हल्लाउनै सक्दैनन्, तर अवस्था संगठनहरुभित्र उल्टो छ, विद्रोहमा उम्मेदवारी नदिए पनि अन्तरघातको सम्भावना प्रबल छ। एमालेभित्र नगरपालिकाहरुमा ३ देखि ६ जना आकांक्षी छन् भने गाउँपालिकामा २ देखि ४ जनासम्म देखापरेका छन्।

नेकपा माओवादी केन्द्रभित्र आकांक्षीहरु सीमित भए पनि कार्यकर्ताहरुबाट पार्टीलाई अन्तरघातको सम्भावना छ। पछिल्लो समय जिल्ला तहका नेताहरु नेकपा माओवादी केन्द्रबाट टुक्रिएर अन्य पार्टीमा गएपछि पार्टीको परिस्थिति बदलिएको छ। माओवादी केन्द्रका एक नेताले भन्छन्– ‘गाउँ तहसम्म रहेका कार्यकर्ता अझै माओवादी केन्द्रमै आबद्ध छन्, तर जिल्ला तहमा हामीबाट छुटिएका साथीहरुलाई कार्यकर्ताले मत दिनसक्ने डर बढी छ। नेताहरुबीच अन्तरघातको सम्भावना माओवादी केन्द्रभित्र न्यून भए पनि तिनका कार्यकर्ताले पार्टीबाट अलग भएका नयाँ शक्तितिर केही मत जान सक्ने कार्यकर्ताहरुको विश्लेषण छ। राप्रपा, जनशक्ति, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरमलगायतका पार्टीहरु भने ठूला दलहरुबीचको अन्तरघात हुनसक्ने मतबाट फाइदा लिने रणनीतिमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्