हतियार राख्नेले टेरेनन् प्रशासनलाई



नेपाल समाचारपत्र, हेटौंडा ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कानुनी वा गैरकानुनीरुपमा राखिएका सबै हातहतियार १५ दिनभित्र बुझाउन सूचना जारी गरेको थियो ।

तर, स्थानीय प्रशासनले दिएको समयावधिको अन्तिम दिन शुक्रबार एक जनाले मात्र बन्दुक फिर्ता गरे । जिल्लाका राजनीतिक दलका नेतादेखि, व्यापारीहरुसँग पनि हतियार रहे पनि जिल्ला प्रशासन कार्यालयले फिर्ता गर्न गरेको आव्हानलाई उनीहरुले टेरेनन् ।

स्थानीय प्रशासनले पनि यसअघि फिर्ता नगरेका हातहतियार फिर्ता गर्न कुनै ताकेता गर्ने नगरेका कारण यसपटक हतियार बुझाउने चासो हतियारधनीले नदेखाएको बुझिएको छ ।

हतियार बुझाउन दिइएको समयसीमाको अन्तिम दिन शुक्रबार हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाईका चन्द्रबहादुर मगरले हतियारको लाइसेन्स अनुसार आफूसँग रहेको २२ बोरको राइफल १ थान बुझाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले कानुनीरुपमा ५३ वटा हतियारको अनुमतिपत्र प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले हतियार राख्ने अनुमति दिएकामा व्यक्ति र संघसंस्था छन् ।

१५ दिने सूचनापश्चात हतियार नबुझाउनेलाई के कारबाही हुने भनेर उल्लेख नहुँदा प्रशासनलाई पनि हतियार जफत गर्न अप्ठ्यारो भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका एक अधिकारीको भनाइ छ । स्थानीय प्रशासनले हतियार फिर्ता गर्न सूचित गरेसँगै निर्वाचन सुरक्षालाई ध्यानमा राखी मकवानपुर प्रहरी हतियार संकलनमा सक्रिय देखिएको छ ।

हतियार फिर्ता गर्न स्थानीय प्रशासनले सूचना जारी गरेपछि जिल्लाको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयले केही अवैध हतियार प्रहरीलाई बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्