आलुखेतीमा रमाउँदै



धनवीर दाहाल, रुकुम ।
गहुँ बालीबाट आम्दानी नहुने देखिएपछि रुकुम सल्लेका कृषकहरुले व्यवसायिक रुपमा आलुखेती गर्न थालेका छन् ।

रुकुमको मुसिकोट नगरपालिका अन्र्तगत सल्लेमा बिशेष गरी महिलाहरुले समुह बनाएर कृषि पाठशाला संचालन गरिहेका छन् ।

सोही नमुना कृषि तथा खाद्य सुरक्षा पाठशालाद्धरा व्यवसायिक रुपमा आलु खेती सुरु गरेका हुन् । गहुँबाट भन्दा आलुबाट आम्दानी हुने देखेपछि आफुहरुले व्यवसायिक रुपमा आलुखेती गर्न थालेका कृषक बिमला बि.सीले बताउनुभयो ।
कृषकहरुको क्षमता अभिबृद्धि गरी आत्मनिर्भर बनाउनका लागी जिल्ला कृषि विकास कार्यालय रुकुमले जिल्लाका बिभिन्न ठाँउमा कृषक पाठशाला संचालन गरिरहेको छ । कृषकलाई व्यवसायिक रुपमा लगाउनका लागी थालिएको अभियानले जुनसुकै बालीमा पनि दक्षता हासिल गराउने जिल्ला कृषि विकास कार्यालय रुकुमको दावी छ ।

जिल्ला कृषि विकास कार्यालय रुकुमले जिल्ला भर बिभिन्न बालीका २८ वटा कृषि पाठशाला संचालन गरिरहेको बरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाँइले जानकारी दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालयले कृषकको मागका आधारमा तथा त्यस ठाँउको माटोको आधारमा पनि बाली लगाउनका लागी सहयोग गरिरहेको छ । लगाइसकेको बालीलाई बिभिन्न रोगबाट जोगाउन, बस्तुको बजारीकरण तथा त्यसबाट हुने आम्दानीका बिषयमा कृषक पाठशालामा कक्षा संचालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्