च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी



काभ्रे, २३ चैत । पनौती नगरपालिका– १२ खोपासीका ५३ वर्षीय कृष्णदास उलकले च्याउखेती सुरु गर्नुभएको झन्डै ३० वर्ष भयो ।

सुरुमा च्याउको बजार नभएका कारण उहाँले व्यवसायिकता दिन सक्नुभएन् । हाल उलकले च्याउखेतीबाटै वार्षिक रु १० लाख आम्दानी गर्दै आउनुभएको छ ।

“च्याउखेती गर्नसके मनग्य आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो । हाल १० वटा टनेलमा च्याउखेती गरेर उहाँले १० जनाको परिवारको खर्च धान्दै आउनुभएको भने ११ जनाले रोजगारी समेत पाएका छन् ।

उलकले पाँच रोपनी जग्गामा च्याउखेती गर्दै आउनुभएको छ । युवा अवस्थादेखि नै अन्य जागिर छोडेर उहाँले च्याउखेती सुरु गर्नुभएको हो । परिवारसँग बसेर व्यवसाय सञ्चालन गर्दा निकै आनन्द आएको उहाँ बताउनुहुन्छ ।

“च्याउखेती गरेकै छोराहरुले समेत रोजगारी पाएका छन्” उलकले भन्नुभयो । उहाँले कन्या जातको उत्पादन गर्नुभएको छ । सुरुमा उहाँले रु २० हजार लगानीमा च्याउखेती सुरु गनुभएको हो । यथेष्ट आम्दानी हुन थालेपछि उलक व्यावसायिक च्याउखेतीतर्फ आकर्षित हुनुभएको हो ।

“जिल्ला कृषि विकास कार्यालयले अनुदान उपलब्ध गराए च्याउखेती गर्न थप उर्जा मिल्ने थियो,” उहाँले भन्नुभयो । सुरुवातमा उहाँले च्याउ खेतीसम्बन्धी किताब पढेर व्यवसायको थालनी गर्नुभएको थियो । उहाँले ‘जय हारती माँ’ नामक उद्योग सञ्चालन गरी अहिले मासिक ३० हजार किलो च्याउ उत्पादन गरेर बनेपा बजारमा बिक्री गरिरहनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्