सचेत हुनुहोस् : गर्मी महिनामा धेरै आगालागी हुनसक्छ



(अच्युत रेग्मी)

काठमाडौँ, २३ चैत । कृपया जथाभावी आगो फुकेर नहिँडनुहोस्, यो गर्मी मौसममा सबैतिर सुक्काहुने र हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुन सक्छ ।

वन विभागले जनाएअनुसार मानिसको हेलचक्रयाइँले गर्दा वनमा धेरै डडेलो लाग्ने गरेको छ । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहोर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेका छन् ।

गत वर्षको तुलनामा यो यर्ष वनमा कम मात्रामा डडेलो लागेको छ । विभागका उपसचिव मोहनराज काफ्लेले यसवर्ष धेरै वर्षा भएका कारणले गत वर्षको तुलनामा वनमा कम मात्रामा आगालागी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनचेतना र प्रचारप्रसारको कमि हुँदा वनमा धेरै आगलागी हुने गरेको पाईन्छ । यसको नियन्त्रणका लागि विभाग सक्रियताका साथ लागेको छ ।”

आफ्नो जग्गामा रहेको पातपतिङ्गर पोलेर आगो ननिभाइ नहिँड्न समेत उपसचिव काफ्लले सबैलाई आग्रह गर्नुभयो । जलवायु परिवर्तन हुनु र लामो समय खडेरी पर्दा सुख्खा भई धेरै आगलागी हुने गरेको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा भन्दा चालु आर्थिक वर्षमा थोरै आगलागी भएको छ । आव २०६९÷७०, २०७०÷०७१ र २०७१÷०७२ को तुलनामा चालु आर्थिक वर्षमा कम आगलागी भएको हो ।

देशभर १९ हजारको हाराहारीमा सामुदायिक वन रहेकामध्ये अधिकाशं जङ्गलमा चैत वैशाखमा धेरै आगलागी हुने गरेका छन् । वन क्षेत्रमा हुने आगलागीका कारण बसिनौँ हजारौँ वन्यजन्तु मर्ने गरेका छन् ।

वनमा हुने आगलागी कम होस् भन्ने उद्देश्यका साथ वन विभागले आफ्नो कार्य क्षेत्रअन्तर्गतका जिल्ला वन कार्यालयमार्फत यही चैत १ गतेदेखि ७ गतेसम्म ‘डडेलो नियन्त्रण सप्ताह’ कार्यक्रम सञ्चालन गरेको थियो ।

वनमा हुने आगलागीले मानवीय क्षतिसमेत हुने गरेको छ । वनमा लागेको आगालागीलाई नियन्त्रण लिनका लागि विभागले चुरेका ३६ जिल्लामा दुई सय पोखरी समेत निर्माण गर्न लागेको छ

विभागका प्रवक्ता चन्द्रमान डङ्गोलले वन दशक कार्यक्रमले आगालागी नियन्त्रणमा कमी ल्याउने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आगो र गाईवस्तुको चरिचरणबाट वन क्षेत्रलाई जोगाउन सके वन वृक्षरोपण कम गरेपनि हुन्छ ।” वन दशकले वन क्षेत्रमा हुने आगलागी नियन्त्रणलाई पनि प्राथमिकतामा राखेकोे छ ।

वन ऐनको दफा ४९ को ‘ख’ मा आगो लगाउन वा आगलागी हुने कुनै काम गर्नेलाई दफा ५० को ‘ख’ अनुसार कारबाही गर्ने व्यवस्था गरेको छ । दफा ५० को ‘ख’ मा वनमा आगलागी वा कसूर गर्नेलाई विगो असुल गरी रु दश हजारसम्म जरिवना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ ।

तराई भन्दा पहाडी क्षेत्रमा वनमा हुने आगलागी नियन्त्रण गर्न गाह्रो हुने गरेको छ । पहाडी क्षेत्रमा धेरै भिरालो जग्गा हुनु र तलबाट लागेको आगो माथितिर जाने हुँदा निभाउनलाई कठिन हुने गरेको विभागले बताएको छ ।

‘हरियो वन नेपालको धन’ भन्ने नारालाई सार्थकता दिन वन क्षेत्रमा हुने आगलागीलाई नियन्त्रण गर्नु नै मुख्य चुनौती हो । रासस

प्रतिक्रिया दिनुहोस्