आदिनाथको मूर्ति मन्दिरमा प्रतिस्थापन



काठमाडौँ, २३ चैत । काठमाडौँको दक्षिण भेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज मन्दिरमा प्रतिस्थापन गरिएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन खटजात्रा गरी मूर्तिलाई स्थानीय टोलमा दर्शन गराइने र रामनवमीका दिन मन्दिरमा यथास्थानमा विधिविधानपूर्वक राखी जीवविन्यास गर्ने चलन छ ।

सो मूर्तिलाई प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदाका दिन मन्दिरबाट विधिपूर्वक निकालेर खटमा राखी महास्नान गराउने परम्परा रहेको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो ।

मूर्तिमा शिव तथा पार्वतीको संयुक्त आकृति प्रतिबिम्वित भएको विश्वास गरिएको छ । प्राचीन समयमा नख्खु दोभानमा भेटिएको सो मूर्तिलाई स्थानीयवासीले देखेर चोभार डाँडामा प्रतिस्थापन गरेको जनविश्वास छ ।

यसरी वर्षमा एकपटक धार्मिक विधिअनुसार मूर्तिलाई स्नान, सिङ्गार, मर्मत तथा खटजात्रा गराएपछि भक्तजनलाई प्रसाद वितरणको कार्य गरिन्छ । स्थानीय देवदेवीलाई निमन्त्रणा गरी आदिनाथ जात्रा सञ्चालनका लागि अनुमति माग्ने गरिन्छ ।

त्यसैगरी, हरेक वर्ष आश्विन शुक्लपूर्णिमा र चैतेदसैँमा गरी दुईपटक सो मन्दिरमा मेला लाग्ने गर्छ ।

करुणाका प्रतीक मानिने आदिनाथको दर्शन गरेमा रोगव्याधीबाट मुक्ति मिल्ने र पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास छ । यसरी मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गरेपछि जात्रा समापन भएको मानिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्