नरायणगढ–मुग्लिन सडक निर्माणमा ढिलाइ नगर



सडक विस्तारको काम भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा ढिस्को खस्दा दुई जनाले ज्यान गुमाएका छन् । ढिस्को खस्दा पाँचवटा सवारीसाधन पुरिनुका साथै दुईजना घाइते हुन पुगे । राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य र महत्वपूर्ण सडकको विस्तार गर्नु राम्रो पक्ष हो । तर सडक विस्तारको क्रममा यात्रुले सास्ती पाएका छन् । घण्टौं जाममा बस्नुपर्ने बाध्यता खेप्दै आएका यात्रुहरु समयमा नै सडक निर्माण कार्य नसकिँदा दिक्क छन् । कुनै पनि विकास निर्माणको काम समयमा नै सम्पन्न नहुने ठूलो समस्याको रुपमा रहेको छ । मुग्लिन–नारायणगढ सडकखण्ड पनि यसबाट अछुतो रहन सकेन । जुन गतिमा निर्माण कार्य हुनुपर्ने हो त्यो भएको पाइँदैन । सवारी आवागमन नै रोकेर गरिएको काम सुस्त गतिमा अगडि बढेको छ । सडक विस्तार आयोजनाको हेलचेक्र्याइँ र लापरबाहीको कारण यात्रुले ज्यान नै गुमाउने अवस्था सृजना भएको छ । सडक निर्माणको क्रममा सरकारी अनुगमन पनि सुस्त छ । जोखिमयुक्त स्थानमा सचेतना चिह्न नराख्नु दुर्घटनाको कारण बनेको छ ।
साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदै छ । यसै क्रममा नारायणगढबाट मुग्लिनतर्फ १६ किमिको दूरीमा रहेको स्थानमा सडकको भित्तो काटेर फराकिलो बनाइँदै छ । यसका कारण हजारौं यात्रुले यस सडकखण्डमा सास्ती खेप्दै आएका छन् । सडक विस्तारको अधिकांश स्थान पहिरोमा पर्ने भएकाले चट्टान झर्न सक्ने, थर्किएर पहिरो खस्न सक्ने सम्भावना धेरै छ । त्यसकारण आयोजनाले सवारीसाधनहरुलाई सचेत गराउनुपर्छ । वर्षाको समयमा यो सडकखण्ड झन् जोखिमपूर्ण मानिन्छ ।

आगामी दिनमा सावधानी अपनाउनुको अर्को विकल्प छैन । आयोजनाले जोखिम कम गर्नको लागि सडक विस्तार भइरहेका स्थानमा झर्न लागेका ढिस्का झारेर सडकलाई कम जोखिमयुक्त बनाउनुपर्छ । यो सँगै निर्माण कार्यलाई पनि तीव्र गतिका साथ अगाडि बढाउनुपर्ने आवश्यकता छ । जति धेरै निर्माण कार्यमा ढिलाइ भयो त्यति नै धेरै जोखम हुने देखिन्छ । दैनिक सात हजारको हाराहारीमा यस सडकमा सवारीसाधन आवतजावत गर्ने भएकाले पनि समयमा नै काम सम्पन्न गर्नु र यात्रुहरुको आवागमनलाई सहज बनाउनु सरकारको दायित्व एवं कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्