“उचित पारिश्रमिक दिने हो भने जुम्ला जान पनि तयार छौं”

नेपालमा थोरै मात्रामा मात्रै प्याथोलोजिस्ट डाक्टर उत्पादन भएको नेपाल स्वास्थ्य परिषद्को तथ्यांकमा उल्लेख छ। रोग पत्ता लगाउन प्याथोलोजिस्ट डाक्टरले प्रमाणित गरेको रेकर्डलाई आधिकारिक मानिन्छ। तर, बिडम्वना नेपालमा प्रत्येक सरकारी अस्पतालमा प्याथोलोजिस्ट डाक्टरहरु पुग्न सकेका छैनन्। यसै विषयमा ल्याब सम्यक डाइग्नोस्टिक प्रालि जावलाखेलका निर्देशक एवं एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपाल (एसीपीएन) का पूर्वसहसचिव डा. केयुर गौतमसँग नेपाल समाचारपत्र दैनिकका लागि प्रशान्त वलीले गरेको कुराकानीका महत्त्वपूर्ण अंशहरूः
स्वास्थ्य उपचारका लागि ल्याबको महत्त्व कति छ ?

ल्याब भन्नासाथ परीक्षण बुझ्नुपर्छ। शरीर स्वस्थ या अस्वस्थ के छ भन्ने पत्ता लगाउन ल्याब अनिवार्य मानिन्छ। संसारमा करिब ७० प्रतिशत रोगको उपचार प्रयोगशाला परीक्षणको परिणामको आधारमा हुने गर्छ। रोगको सही पहिचानका लागि गुणस्तरीय प्रयोगशालाका साथसाथै दक्ष जनशक्तिको भूमिका महत्त्वपूर्ण मानिन्छ। तर, अझ पनि प्याथोलोजीलाई दिसा, पिसाब, खकार जाँच्नेका रूपमा मात्र लिइने गरिएको छ। रोगको पहिचान र उपचार विधिलाई निर्देशन गर्ने काम ल्याबको हो। त्यसैले आज ल्याबको महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ।

प्याथोलोजिस्ट डाक्टरहरुको अवस्था के छ ?

वर्तमान परिप्रेक्षमा उपचारका लागि प्याथोलोजी महत्त्वपूर्ण अंग हो। रोगको सही पहिचानका लागि प्याथालोजीको विकल्प छैन। अहिले नेपालभर २ सय जनाभन्दा बढी प्याथोलोजिस्ट डाक्टर दर्तावाला हुनुहुन्छ। रोगहरुको पहिचानका लागि प्याथोलोजिस्टको भूमिका अग्रणी मानिन्छ। तर, राज्यले यसको महत्त्वलाई राम्ररी बुझ्न सकेको छैन। अहिले पनि ठूल्ठूला अस्पताल तथा मेडिकल कलेजहरूमा सुविधा सम्पन्न प्याथोलोजी छैनन्। भए पनि नाम मात्रका छन्। जिल्लामा प्याथोलोजिस्ट डाक्टर पुग्ने कुरा त नाम मात्रैको हुने हो कि जस्तो लाग्छ।

विदेशी लगानी भित्त्याउन खोज्नु नराम्रो होइन तर, विदेशी लगानी भित्त्याउँदा स्वयं नेपाली व्यवसाय आत्मनिर्भर नहुने, प्रविधि विस्तार गर्ने अवसरबाट वञ्चित हुनुपर्ने र अर्थतन्त्रमा धक्का पुग्ने हुन्छ।

तपाईंहरुको कुनै समस्या राज्यले सम्बोधन गर्नुपर्ने अवस्था छ कि ?

रोग पत्ता लगाउन प्याथोलोजिस्ट डाक्टरहरुको भूमिका महत्त्वपूर्ण मानिन्छ। प्याथोलोजिस्ट डाक्टर निकै कम हुँदा पनि हामीहरु विकटमा गएर सेवा गर्न तत्पर छौं। सरकारी अस्पतालहरुमा एक जना प्याथोलोजिस्ट डाक्टर अनिवार्य भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन। काठमाडौं उपत्यका भित्रैका नाम चलेका अस्पतालहरुमा प्याथोलोजिस्ट डाक्टरहरुको दरबन्दी सिर्जना नगरिएको अवस्था छ। राज्यले डाक्टरहरुलाई उचित पारिश्रमिक दिने हो भने हामी जुम्ला या त इलाम जहाँ गएर पनि खटिन तयार छौं। तसर्थ तत्काल दरबन्दी सिर्जना गर्नुपर्यो। रोग निदान गर्न आवश्यक पर्ने प्रविधि भित्त्याउन निजी ल्याबहरुलाई पनि जिम्मेवारी दिनुपर्यो। पब्लिक–प्राइभेट पार्टनरसिप गर्न तयार छौं। म आफैं पनि नेपालभित्र रहेका ल्याबहरु अन्तर्राष्ट्रियस्तरमै गुणस्तरयुक्त हुनुपर्छ भन्ने अभियानमा लागिपरेको छु।

विदेशी ल्याबहरू पनि दर्ता भएका छन्। यसले अप्ठेरो पारेको भन्ने सुनिएको छ, वास्तविकता के हो ?

यथार्थमा उद्योग विभागमार्फत् विदेशी लगानी भएका ल्याबहरु पनि नेपालमा सञ्चालनमा आएका छन्। विदेशी लगानी भित्त्याउन खोज्नु नराम्रो होइन तर, विदेशी लगानी भित्त्याउँदा स्वयं नेपाली व्यवसाय आत्मनिर्भर नहुने, प्रविधि विस्तार गर्ने अवसरबाट वञ्चित हुनुपर्ने र अर्थतन्त्रमा धक्का पुग्ने हुन्छ। यस विषयमा पटक–पटक स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षणसमेत गराएका छौं। ल्याबसम्बन्धी विशेषज्ञ तथा सक्षम डाक्टर हुँदा हँुदै अरू देशलाई प्रोत्साहन गर्नु त्यति उचित होइन।

माग बढी भए पनि प्याथोलोजिस्ट डाक्टरहरु किन कम ?

यो विषय पढ्न निकै खर्चिलो पनि छ। अर्को कुरा देशका थोरै स्थानहरुमा कोटा निर्धारण गरेर पढाइन्छ। कतिपयले यसको महत्त्व स्पष्टसँग नबुझेर पनि हुन सक्छ।

ल्याबहरु गुणस्तरीय छैनन् भन्ने पनि सुनिन्छ नि ?

गुणस्तरीय प्याथोलोजी सेवाका लागि आम सर्वसाधारण सचेत हुनुपर्ने आवश्यकता देखिन्छ। सानातिना जाँचका लागि पनि विदेश पठाउने परिपाटीबारे आम सर्वधारणले सम्बन्धित निकायहरुविरुद्ध आवाज उठाउन सक्नुपर्छ। अहिले औषधी पसलदेखि विभिन्न ल्याबहरुले समेत नमुना संकलन गरेर नेपालमा सम्भव हुने जाँचहरु पनि विदेश पठाउन थालेका छन्। यसका लागि एजेन्टहरु सक्रिय भएर लागिपरेको देख्न सकिन्छ। यसमा कमिसनको खेल हुनसक्छ। यसले एकछिनमा हुने रिपोर्ट हप्ता दिनमा पनि बिरामीले प्राप्त गर्न सक्दैनन्। नेपालमा सम्भव नहुने जाँचहरुका लागि विदेशको सहायता आवश्यक पर्छ। तर, स्वदेशमा सम्भव हुने रिपोर्ट बाहिर जाने गर्नाले देशको अर्थतन्त्र विदेश पलायन भएको छ। यसै गरी हामीजस्ता प्याथोलोजीमा एमडी गरेर आएका डाक्टरहरुको क्षमता खेर गएको छ भने टेक्निकल जनशक्तिहरुको मनोबल गिरेको छ। सेवाग्राहीहरुले समेत गुणस्तरीय ल्याब हो वा होइन ख्याल राख्नुपर्छ।

LEAVE A REPLY