दशैंमा मेलम्चीको पानी



सुरेश तामाङ

नेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले अर्काे दशैंमा मेलम्चीको पानी राजधानीमा आउनेमा शंका गर्नुभन्दा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ। उहाँले मंगलबार संसद्को लेखा समितिमा सांसदहरुसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो।

मेलम्चीको पानी ल्याउन अहिले भइरहेको काम एकदमै संवेदनशील कुरा भएको बताउँदै सचिव उपाध्यायले बैठकमा भन्नुभयो– ‘यो बेला कुनै बाधा अवरोध भयो भने मेलम्ची दशैंमा आउन सक्दैन। त्यस कारण हामीलाई सहयोग गर्नूस्।’ उहाँले यस मामिलामा राजनीतिक अवरोध नगर्न आग्रह गर्दै यदि राजनीतिक अवरोध भएमा दशैंअगावै राजधानीबासीले पानी पिउन नपाउने बताउनुभयो। उहाँले दशैंमा राजधानीमा मेलम्ची आउने तर सबै ठाउँबाट काम गर्ने वातावरण बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय भन्छन्– ‘हामीलाई राजनीतिक अवरोध भएन भने सो समयभित्र मेलम्चीको पानी आउँछ।’

‘हामीसँग बजेटको अभाव छैन’, उहाँले भन्नुभयो– ‘मात्रै हामीले राजनीतिक अवरोध हुन्न भन्ने प्रतिबद्धता चाहेका छौं। त्यसैअनुसार सहयोग गर्नुहोस्। शंका गर्नुपर्दैन, मेलम्ची आउँछ।’

बैठकमा मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले सन् २०१६ को फेब्रुअरीपछि काममा तीव्रता आए पनि हाल नरम चट्टानका कारण सुरुङ खन्ने काममा ढिलाइ भएको बताउनुभयो। सुरुङ खन्ने उपकरणहरु जगेर्ना नहुँदा काममा ढिलाइ भएकाले निर्माण पक्षले नयाँ प्रविधिको उपकरणहरु आयात गर्दै कामलाई तीव्रता दिने प्रतिबद्धता आएको आयोजना प्रमुख भट्टराईले बताउनुभयो।

उहाँका अनुसार, सुरुङ निर्माणकार्य ९० प्रतिशत सकिएको छ। सोमबारसम्ममा मात्रै ४ हजार ७७ मिटर सुरुङ खनिइसकेको छ। एडीबीको आर्थिक सहयोगमा आयोजनाले हालसम्म सुरुङ खन्नेलगायतको काममा २१ अर्ब रुपियाँ खर्च गरिसकेको छ भने ३⁄४ अर्ब भएको खण्डमा मेलम्चीको पानी काठमाडौं ल्याउन सकिनेछ।

समितिको मंगलबार बसेको बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव र मेलम्ची खानेपानी आयोजनाका प्रमुखलाई छलफलका लागि बोलाइएको थियो। २६ दशमलब २ किमि लामो सुरुङहुँदै काठमाडौंमा पानी ल्याउन इटालियन कम्पनी को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) ले सुरुङ खन्ने काम गरिरहेको छ।

गएको पुस १३ मा सुन्दरीजल–सिन्धु सुरुङ खण्ड साढे ९ किमि ब्रेक थ्रु भइसकेको छ भने अर्काे सुरुङ खण्ड पनि ब्रेक थ्रु हुने आयोजनाले लेखा समितिलाई जानकारी गराएको छ। सुरुङ निर्माण कम्पनीले हाल ४ ठाउँबाट सुरुङ निर्माण कार्य गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्