नेपाली चेलीको ड्रिम जब बलिउडमा



नेपाली कलाकारको बलिउड पहुँच बढ्दो छ। नेपाली चेली मनिषा कोइरालाबाट शुरु भएको बलिउड फिल्म यात्राको दौर लामो छ। सुनील थापा, करिष्मा मानन्धर, झरना वज्राचार्य, निरुता सिंह, उषा पौडेल, विल्सनविक्रम राई हुँदै अगाडि बढेको यो पहुँच नेपाली चेली साध्वी भट्टसम्म फैलिएको छ।

पछिल्लो समय नेपाली चेली साध्वी भट्ट पनि बलिउड फिल्मसँग जोडिएकी छिन्। उनको केन्द्रीय भूमिका रहेको भनिएको बलिउड फिल्म द ड्रिम जबको तीन गीत हालै सार्वजनिक गरिएको छ।

फिल्ममका कुल सात गीत छन्। संगीत र अभिनय अध्ययनका लागि मुम्बई पुगेकी साध्वीले रियल रिल्स प्रोडक्सनले निर्माण गरेको द ड्रिम जबमा युथ लभ स्टोरी र बैंकिङ क्षेत्रको खराब प्रवृत्तिलाई उतारिएको कथामा मूख्य भूमिकामा अभिनय गरेकी छिन्। फिल्ममा उनी बैंकरको भूमिकामा छिन्।

‘म गर्व गर्छु नेपाली हुनुमा। भाग्यले म बलिउडमा काम पनि गरिरहेकी छुु’, नेपाली फिल्ममा समेत अभिनय गर्ने लालशा भएको बताएने साध्वीको भनाइ छ– ‘म बलिउडमा नेपालको प्रतिनिधिको हिसाबले संघर्ष र योगदान गरिरहेकी छु। यहाँ सिकेको अभिनय कौशल नेपाली फिल्मका लागि उपयोग गर्न चाहन्छु।’ उनले नेपाली फिल्ममा खेल्ने चाहनाबमोजिम स्क्रिप्ट हेरिरहेको बताकी छिन्। दुई बलिउड फिल्मका लागि साइन गरिसकेकी साध्वीले नेपाली फिल्ममा पनि छिट्टै काम गर्ने बताइन्।

आगामी नयाँ वर्ष २०७४ को जेठमा सार्वजनिक प्रदर्शनमा आउने द ड्रिम जबका गीतहरुमा बलिउडका चर्चित गायक मिका सिंह, नकाश अजिज, नीति मोहन, जावेद अली, ममता शर्मा, मनोज तिवारीले गीत गाएका छन्। साध्वीले नृत्य गरेको पार्ट टाइमका प्यार पर्मानेन्ट करले भने युट्युबमा लोकप्रियता कमाइरहेको छ। यी गीतहरु युट्युब, आईट्युनस्, साभन, हंगामा, गानालगायत एप्समा सुन्न सकिन्छ। फिल्मका दिल मागें मेरे, सेल्फी लेले गीत पनि युट्युबमा सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्