“६ महिना विद्युत् निर्यात गर्न सकिन्छ”



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षभित्र नै कुलेखानी र चमेलिया जलविद्युत् आयोजनामार्फत् उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसक्ने र निजी क्षेत्रमा २ सय मेगावाट विद्युत् थपिने भएकाले देशभरी नै विद्युत् संकट निर्मुल पार्ने बताउनुभएको छ। निर्देशक घिसिङले हाल मुख्य शहरबाहेक अन्य स्थानमा र औद्योगिक क्षेत्रमा रहेको दैनिक ४ घण्टा बराबरको विद्युत् कटौती गर्नुपर्ने अवस्था नरहने बताउनुभयो। प्राधिकरणको पछिल्लो अवस्थाका बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले उक्त कुरा बताउनुभएको हो।

अन्तिम चरणमा रहेको माथिल्लो तामाकोसी आयोजनाको निर्माण सम्पन्न भएपछि वर्षमा ६ महिना विद्युत् निर्यात गर्न सकिने बताउँदै घिसिङले अबको चुनौती लोडसेडिङको नभई विद्युत निर्यातको रहेको बताउनुभयो। अबको दुई वर्षभित्रमा १२ सय मेगावाट विद्युत् उत्पादन थपिने र अधिकतम् आन्तरिक खपतभन्दा निकै बढी मात्रामा विद्युत् उत्पादन हुने उहाँले बताउनुभयो।

त्यस्तै प्राधिकरणले चालू आर्थिक वर्षमा भारतबाट १५ अर्ब रुपियाँ बराबरको विद्युत् आयात गर्ने भएको छ। चालू आर्थिक वर्षको हालसम्ममा करिब ९ अर्ब रुपियाँ बराबरको विद्युत् भारतबाट आयात भइसकेको घिसिङले बताउनुुभयो। गत वर्ष कुल विद्युत खपतको ३५ प्रतिशत भारतबाट आयात भएकोमा यस वर्ष करिब ६ हजार गिगावाट आवर माग हुने पक्षेपण गर्दै ३३ प्रतिशतमात्र भारतबाट आयात हुने अनुमान गरिएको छ। गत वर्ष १४ अर्ब रुपियाँ बराबरको १७३० गिगावाट आवर विद्युत् आयात भएको थियो। जुन ५ हजार गिगावाट आवरको ३५ प्रतिशत हो। यसवर्ष गत वर्षको भन्दा १३ प्रतिशत बढी अर्थात १९७२ गिगावाट आवर १५ अर्ब रुपियाँमा विद्युत् हुने भएको उहाँले जानकारी दिनुभयो। आन्तरिक उत्पादकत्व बढेर कम आयात भए पनि आयोजना राजस्व भने गत वर्षको तुलनामा १२ अर्ब रुपियाँले बढेको छ। अघिल्लो वर्ष विद्युत्मार्फत् संकलन भएको कुल राजस्वको ३२ प्रतिशत भारतलाई तिरेको थियो ।

त्यस्तै विद्युत् चुहावट नियन्त्रणबाट ४ प्रतिशतले कम गर्दै चालू आर्थिक वर्षको ६ महिना अवधिमा १ अर्ब २५ करोड रुपियाँ बराबर बचत गरेको प्राधिकरणले जनाएको छ। अझै करिब २० प्रतिशत विद्युत् चुहावट हुने गरेको। प्राधिकरणले आगामी कार्ययोजनामा ऊर्जा दक्षतालाई पनि अगाडि सादै किफायती विद्युत् उपयोगको रणनीति अगाडि सार्ने भएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले नेपाल समाचारपत्रसँग कुरा गर्दै प्राधिकरणले विद्युत् किफायतीलाई जोड दिन छिट्टै २ करोड एलईडी बल्व वितरण गर्ने र यसबाट करिब १५० मेगावाट विद्युत् बचत गर्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो– ऊर्जा दक्षताका निम्ति प्राधिकरणले प्रबन्ध निर्देशकको माहतमा रहने गरी एउटा संयन्त्र निर्माण गरिसकेको हुनाले इनर्जी इफिसियन्सीका कार्यक्रम घरेलु क्षेत्रबाट औद्योगिक क्षेत्रमा जाने तयारी रहेको छ।’

प्रतिक्रिया दिनुहोस्