काभ्रेमा ११ दल, १ सय ८९ मतदान केन्द्र



मोतीराम तिमल्सिना, काभ्रे
स्थानीय तहको निर्वाचनका लागि १ सय ८९ मतदान केन्द्र कायम हुने भएका छन्। यसअघि संविधानसभाको निर्वाचन २०७० मा १ सय ८५ मतदान केन्द्र कायम भएका थिए।

स्थानीय निकायको पुनर्संरचनापछि बनेको स्थानीय तहको निर्वाचनमा सबै मतदाताहरूको सुविधाका लागि कार्यालयले प्रस्ताव गरेको आयोगको मतदान केन्द्रमा दलहरूले सहमति दिएका हुन्। स्थानीय तहको निर्वाचनमा चार वटा मतदान केन्द्र थपिने भएका छन्। मतदान केन्द्र थपिएका स्थानहरूमा बनेपा नगरपालिकामा मात्रै तीन वटा छन्। हालको बनेपा ११ मा रहेको सरस्वती महिला सामुदायिक भवन, बनेपा ३ मा रहेको नन्दादेवी प्रावि र साविक नासिका साँगा गाविस भवन रहेको बनेपा नगरपालिका १३ नम्बर वडामा मतदात केन्द्र थपिएका छन्। त्यस्तै नमोबुद्ध नगरपालिकाको वडा नम्बर ११ मा रहेको नमोबुद्ध प्रावि र धुनपा–१२ मा रहेको बथलादेवी निमावीमा मतदान केन्द्र थप गरिएको छ।

यसअघि कायम भएको साविक गैह्रिबिसौना देउपुर गाविस समितिमा रहेको स्वास्थ्य चौकीको मतदान केन्द्र खारेज गरिएको छ। यसअघिका अन्य सबै मतदान केन्द्रहरूलाई आधार मानेर नयाँ केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरलेले जानकारी दिए। मतदान केन्द्र सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको थियो। उक्त समितिको बैठकमा जिल्ला न्यायाधीश आमन्त्रित सदस्यका रूपमा रहनेछन्। निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत न्यायाधीश हुने भएकाले मतदान केन्द्र सिफारिस तथा निर्वाचनका अन्य कार्यक्रमहरूमा जिल्ला न्यायाधीशहरूलाई आमन्त्रण गर्ने गरिएको पोखरेलले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी शिव सिंखडाको अध्यक्षतामा पटक–पटक बसेको बैठकले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका १३ वटा स्थानीय तहका १ सय ३५ वडा वडाहरूका लागि पायक पर्ने गरी मतदान केन्द्र सिफारिस गरेको हो।

मतदान केन्द्र सिफारिस गर्नुअघि जिल्ला निर्वाचन समितिको कार्यालयले जिल्लाका सबै स्थानीय तहका कार्यकारी अधिकृत तथा निमित्त प्रमुखहरू, जिल्लास्तरीय राजनीतिक दलका प्रमुखहरू र विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूसँग छलफल गरेको थियो। दलहरूले पनि छलफल गरी जिल्ला निर्वाचन कार्यालयको मतदान केन्द्र सिफारिस समितिलाई सुझाव दिएका थिए। जिल्लाबाट पठाइएका मतदान केन्द्रलाई केन्द्रीय निर्वाचन आयोगले अन्तिम रूप दिएको छ। आज चैत्र १० गते आयोगले देशभरका सबै मतदान केन्द्रको सूची सार्वजनिक गर्दै छ।

जिल्लाबाट अन्तिम पटक चैत्र ५ गते केन्द्रहरूको सिफारिस भएको थियो। उक्त सिफारिसका आधारमा निर्वाचन आयोगले देशभरका मतदान केन्द्रहरूको सूची सार्वजनिक गर्न लागेको हो। स्थनाीय तह पुनर्संरचनापछि ठूला भएका वडाहरूमा ३ वटासम्म मतदान केन्द्र राखिएको छ। मतदान केन्द्रको निर्धारणसँगै निर्वाचन आयोगले फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगी मतदाता सूचीमा फोटो खिचाएका मतदाताहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। अघिल्लो पटक कायम भएका मतदाताहरूको फोटोसहितको परिचयपत्र यो पटक काम नलाग्ने भएको छ। आयोगले चैत्र २० गतेसम्म मतदाताहरूको फोटोसहितको परिचयत्र प्रकाशन गरी जिल्ला–जिल्लामा पठाउने तयारीसमेत गरेको छ। यो पटक मतदातासहितको परिचयपत्रबिना मतदान गर्न पाइनेछैन। अघिल्लोपटक वैद्य माओवादीले फोटोसहितको मतदाता परिचयपत्र लुटेकाले नागरिकता वा अन्य परिचयपत्रको माध्यमबाट मतदान गर्ने अवसर दिइएको थियो। यो पटक आयोगले फोटोसहितको मतदाता परिचयपत्रबाहेक अन्य प्रमाणले मतदानमा सहभागी हुन नपाउने व्यवस्था गरेको छ।

स्थानीय जिल्लामा २५ वटा दलले स्थानीय तहको निर्वाचनमा भाग लिने गरी दल दर्ता गरे पनि निर्वाचन आयोगले निर्वाचन केन्द्र तोक्ने विषयमा छलफल गर्न संविधानसभामा प्रतिनिधित्व गरेका ११ दललाई मात्रै बोलाउने गरेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भने १ सय १३ दल दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्