प्रशिक्षणले कम भयो दुर्घटना



नेपाल समाचारपत्र
काभ्रे
निर्माण क्षेत्रको मेरुदण्डका रूपमा हेरिएको ट्रिपरका कारण बढ्दो दुर्घटना न्यूनीकरण गर्न शुरु गरिएको प्रक्षिक्षणले दुर्घटना कम गराएको तथ्यांकले देखाएको छ।

दैनिक १६ सयभन्दा धेरै ट्रिपर काभ्रेमा सञ्चालन भएकोमा वाग्मती ट्रिपर व्यवसायी संघमा आबद्ध भएका ६ सय ट्रिपरमध्ये गत साउनदेखि फागुन मसान्तसम्म ४० वटा दुर्घटना भएका छन्। १८ वटा ट्रिपरसँग सम्बन्धित दुर्घटनामा ५ वटा दुर्घटनामा ६ जनाले ज्यान गुमाउन पुगेका छन्। तीमध्ये एउटा दुर्घटना मात्रै वाग्मती ट्रिपरसँग आबद्ध ट्रिपरबाट भएको छ भने अन्य दुर्घटना असंगठित ट्रिपरबाट भएको कुँवरले बताए। सचिव प्रेम लामाले दुर्घटना भएकामध्ये अधिकांश प्रशिक्षण नपाएका चालकहरूबाट भएकाले चालकहरूलाई प्रशिक्षण आवश्यक भएको बताए। संघले ४ सय ८९ वटा ट्रिपरका झन्डै एक हजार मजदुरलाई तालिम दिएको बताए। चालकलाई हर्न नबजाउन, ठूलो उफर नराख्न, ट्राफिक नियम पालना गर्न, महिलाका शंगारका सामानहरू नराख्न, झ्यालमा कालो सिसा प्रयोग नगर्न कडा निर्देशन दिएको सचिव प्रेम लामाले बताए।

उपत्यकामा भएका १ सय ११ वटा दुर्घटनामध्ये ३९ वटा दुर्घटना ट्रिपरसँग जोडिएको छ। ट्रिपरमा आएर सवारीसाधन ठोक्कियो भने पनि ट्रिपरकै गल्ती देखाउने गरेको भन्दै व्यवसायीले दुःख व्यक्त गरेका छन्। ‘हामीले सकेसम्म दुर्घटना न्यूनीकरणका लागि मजदुरलाई प्रशिक्षण दिइरहेका छौं, निर्देशन अटेर गर्ने, ट्राफिक नियम नमान्ने मजदुरलाई कारबाही पनि गरेका छौं’ –वाग्मती ट्रिपर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए। दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्रिपरका चालक र सहचालकहरूलाई हरेक वर्ष व्यवसायीहरूले प्रहरीको सहयोगमा प्रशिक्षण दिँदै आएका छन्। अध्यक्ष शेरबहादुर कुँवरले प्रशिक्षण गरिएको ट्रिपरहरूबाट दुर्घटना भएको तथ्यांक प्रस्तुत गरेका थिए। वाग्मती ट्रिपर व्यवसयी संघ, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यलय काभ्रे, संयुक्त आयोजनामा दुईदिने सडक दुर्घटना न्यूनीकरण एवं अनुशासनसम्बन्धी ट्रिपर चालक तथा सहचालकहरूलाई अनुशिक्षण कार्यक्रम तथा ट्राफिक नियम, गति सीमित र सवारी दुर्घटना न्यूनीकरणका उपायहरूका बारेमा प्रशिक्षण दिइएको हो। सिक्नुको मात्र अर्थ नभई सिकाइको व्यवहारमा लागू गर्न सके मात्र उपलब्धि हुने बताएका थिए। प्रहरीलाई धेरै ट्रिप गर्दा आम्दानी धेरै हुने भएकाले तीव्र गतिमा चलाउँदा दुर्घटना बढ्ने गरेको गुनासो चालकहरूले गरेका छन्।

पछिल्लो समय भ्याटबिलबिना निर्माण सामग्री बोकेर आउने ट्रक र पानी चुहाउँदै आउने ट्रकहरूलाई प्रहरीले कारबाही गरिरहेको छ। प्रहरीले भ्याटको बिल र जिल्ला समन्वय समितिको कर तिरेको रसिद लिएर निर्माण सामग्री बोक्न चालकहरूलाई अनुरोध गरेको छ। व्यवसायी र चालकबीचको सम्बन्ध बलियो बनाउँदै दुर्घटना न्यूनीकरण प्रशिक्षण राखिएको अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्