मकवापुरमा क्षयरोगी घटे, कुष्ठरोगी बढे



नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरमा यस आर्थिक वर्षको पहिलो चौमासिकमा २ सय ७९ क्षयरोगका बिरामी भेटिएका छन्। तीमध्ये ९९ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका क्षय–कुष्ठ अधिकृत कपिलदेव झाले बताए। तर, यस वर्ष मकवानुरमा कुष्ठरोगीको संख्या भने वृद्धि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत वर्षभन्दा यस वर्ष मकवानपुरमा ११ जना कुष्ठरोगी थपिएका हुन्।

अघिल्लो वर्षको तुलनामा क्षयरोगको बिरामी घटेको कार्यालयले जनाएको छ। विश्व क्षयरोग दिवसको सन्दर्भमा जिल्ला जनस्वास्थ्य कार्यालयले हेटौंडामा गरेको कार्यक्रममा झाले २ सय ७९ क्षयरोगीमध्ये ५ बालबालिका रहेको बताए। क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण लाग्ने रोग हो। श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सरजस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ।

एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरू १० देखि १५ प्रतिशतलाई रोग सर्ने चिकित्सकहरूले बताएका छन्। सक्रिय क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, राति पसिना आउने, थकाइ लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना देखिन्छ। गत वर्ष २० जना कुष्ठरोगी देखिएको मकवानपुरमा यस वर्ष ३१ जनामा कुष्ठरोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका क्षयकुष्ठ निरीक्षक झाले बताए। कुष्ठरोगीको संख्या वृद्धि हुनुलाई नकारात्मकरूपमा मात्र नलिन आग्रह गर्दै झाले चेतनाका कारण छाला जाँच गर्नेको संख्यामा वृद्धि भएसँगै कुष्ठरोगीको संख्या पनि वृद्धि भएको देखिएको बताए।

कुष्ठरोगलाई अझै नेपाली समाजमा लाज तथा भयको विषय बनाउने गरिएको कारण केही मानिसहरू रोग लुकाएर बस्ने गरेको उनको भनाइ छ। मकवानपुरका सन्दर्भमा सबभन्दा धेरै कुष्ठरोगी हेटौंडा उपमहानगरको बसामाडी र पदमपोखरीसहित पश्चिम मकवानपुरका हाँडीखोला तथा मनहरीमा रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

नेपाललाई कुष्ठरोग उन्मुलन भएको मुलुकमा सूचीकृत गरिए पनि भारतसँगको खुला सीमानाका कारण कुष्ठरोग अन्त्य नभएको दाबी गरिएको छ। छिमेकी मुलुक भारतमा १ लाख ३७ हजार कुष्ठरोग बिरामी छन्। उनका अनुसार मध्यमाञ्चलमा सबभन्दा धेरै धनुषामा २ सय १७ जना कुष्ठरोगी देखिएका छन्। ६ महिनादेखि एक वर्षसम्म औषधि सेवन गर्दा निको हुने रोग भएकाले लाज र भयमा नरहन उनले आग्रह गरेका छन्। कुष्ठरोगको औषधि तथा परीक्षण देशका प्रायः सबै स्वास्थ्य संस्थामा निःशुल्क हुने भएकाले कुष्ठरोग लुकाएर नराख्न उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्