थारु साहित्यिक मेला सम्पन्न



बुनु चौधरी, कैलाली  ।

थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारु भाषामा पठनपाठनका लागि दबाब दिने, थारु भाषा अध्ययन, अनुसन्धानका लागि दबाब दिनेलगायत आठ बुँदे घोषणा–पत्र जारी गर्दै थारु लेखक संघ, नेपालको आयोजनामा चैत १९ र २० गरी २ दिने थारु साहित्यक मेला–२ धनगढी–७, कैलालीको पटेलामा सम्पन्न भएको छ।

मुख्य वक्ताको रुपमा रहेका थारु संस्कृतिविद् अशोक थारुले थारु संस्कृति निकै धनी रहेको कुरा औंल्याउँदै यसको दस्तावेजीकरण अझ आवश्यक रहेको बताउनुभयो।

मेलाको पहिलो दिन विभिन्न स्रष्टाका पुस्तकहरू विमोचन गरिएको थियो। शेखर दहितको गयर्वा बुडु कथा संग्रह, ठाकुर अकेलाको बौनी गजल संग्रह, पुनाराम कर्याबरिक्काको भौका थारु संयुक्त मुक्तक संग्रहलगायत विभिन्न विधाका ६ वटा पुस्तक विमोचन गरिएको थियो।

पहिलो दिनमा तीनवटा सत्र चलाइएको थियो जसमा गजल र कथालेखनको रचना गर्भः एक दृष्टि विषयकमा मदन पुरस्कार विजेता रामलाल जोशी, नवीन विभास, सन्तराम धरकटुवा थारुसँग कृष्णराज सर्वहारीले अन्तरसंवाद गर्नुभएको थियो।

नेवा वस्ती नेवा अभियानका संयोजक दिपक तुलाधरले जसरी मैले नेवारी भाषालाई पाठ्यक्रममा फैलाउन सकें, त्यसरी नै थारु भाषा पनि फैलियोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

त्यसै गरी भाषाविद् पदम राईले थारु भाषाको मानकताबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले हाम्रो जिब्रोले जस्तो उच्चारण गर्छ त्यस्तै बोल्नुपर्ने बताउँदै सबैजना आफ्नो भाषाको वर्ण निर्धारणमा ध्यान पुर्याउनुपर्ने जोड दिनुभयो।

मेलामा विभिन्न कविहरूले आफ्नो रचना प्रस्तुत गर्नुका साथै रंगकर्मी इन्द्र चौधरीले थरुहटको पनि क्षेत्रफल तोकिनुपर्ने विषयमा आफ्नो कवितामा एकल नाटक प्रस्तुत गरेका उनले सबैको वाहवाही पाएका थिए। समापनको दिन थारु साहित्यमा महिला लेखन तथा थारु भाषाको पत्रकारिकताको अवस्थाबारे अन्तर संवाद गरियो। महिला लेखनबारे लेखिका बालिका चौधरी र गजलकार रबिना चौधरीसँग इन्दु थारुले अन्तर संवाद गर्नुभएको थियो।

साहित्य चिन्तन र थरुहट आन्दोलनका विषयमा कृष्ण कुमार चौधरी ‘कुन्दन’, अधिकारकर्मी दिलबहादुर चौधरी यूएन प्रतिनिधि फूलमान चौधरी, अधिवक्ता सन्तराम धरकटुवा थारुसँग सुशील चौधरीले अन्तर संवाद गर्नुभयो। दश वर्षे जनयुद्धमा सबैभन्दा धेरै थारु समुदायका व्यक्ति मारिए पनि त्यससम्बन्धी दस्तावेजीकरणको अभाव रहेको अन्तर संवादको निष्कर्ष थियो। त्यस्तै थारु साहित्यको बाटो बारे ठाकुर अकेलाले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सुशील चौधरीले टिप्पणी गर्नुभयो। मेलामा हालसम्म प्रकाशित थारु भाषाका किताबहरूको स्टल राखिएको थियो। थारु साहित्यिक मेलाको ।

तेस्रो शृंखला बर्दियामा हुने थारु लेखक संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले जानकारी दिनुभयो। यसको पहिलो शृंखला दाङमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्