नेमकिपाद्वारा घोषणापत्र तयारी समिति गठन



नेपाल समाचारपत्र
भक्तपुर
नेपाल मजदुर किसान पार्टीले स्थानीय निर्वाचन घोषणापत्र तयारी समिति र स्थानीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ। पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा भक्तपुरमा बसेको पार्टीको २६औं केन्द्रीय परिषद् बैठकले आगामी २०७४ वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तयारीका लागि पार्टी अध्यक्ष बिजुक्छेको संयोजकत्वमा निर्वाचन मूल समिति गठन गरेको हो।

स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि पार्टी जिल्ला समितिको सिफारिसअनुसार पार्टी केन्द्रीय सचिवालयले उम्मेदवारको अन्तिम नामावली छनोट गर्ने निर्णय गरेको पार्टी सचिव सुनिल प्रजापतिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टीले उठाएको उम्मेदवारको विरुद्ध कुनै पार्टी कार्यकर्ताले उमेदवारी दिएमा, विरोधी उमेदवारको प्रस्तावक वा समर्थक बसेमा वा विरोधी उमेदवारहरूसित मिलेर पार्टीका उमेदवारहरूलाई कमजोर पार्ने उद्देश्यले कुनै काम गरेमा त्यस्ता कार्यकर्ताहरूलाई विधानबमोजिम कडा कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ।स्थानीय निर्वाचनको तयारीका लागि ७ वटै प्रदेशमा पार्टी केन्द्रीय सदस्यको नेतृत्वमा प्रदेशस्तरमा निर्वाचन परिचालन समिति गठन गरेकोसमेत पार्टीले जनाएको छ।

परिषद्लाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष बिजुक्छेले संविधान संशोधनको क्रममा शासक दलहरूले प्रजातान्त्रिक मूल्य र मान्यता विरोधी थ्रेसहोल्डको बन्दोबस्त गरेको चर्चा गर्दै थ्रेसहोल्डको गोली नेमकिपालाई नलाग्ने बताउनुभयो। थ्रेसहोल्ड (मतसीमा) लगाएर नेमकिपालाई नियन्त्रण गर्न खोजिएको हो। हामी अझ आक्रामक रूपमा जनताका बीचमा जानेछौं’ –उहाँले भन्नुभयो। अध्यक्ष बिजक्छेले बलियो प्रतिपक्षको अभावमा कुनै पनि देशमा प्रजातान्त्रिक बन्दोबस्तको विकास हुन नसक्ने प्रष्ट पार्नुभयो।

परिषद्ले भारतीय शासक वर्गको निर्देशनमा नेका–माओवादीको प्रचण्ड सरकारले संसदमा पेश गरेको संविधानको दोस्रो संशोधन देशघाती भएको उल्लेख गर्दै विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । संविधान निर्माणलगायत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी नेपालको शान्ति एवं विकासमा अवरोध गर्दै आएको भारतीय विस्तारवादको समेत परिषद्ले निन्दा गरेको छ।
नेपाली कांग्रेस, एमाले र माओवादी (केन्द्र) ले २०७३ चैत ९ गते पारित गरेको राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ मा समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा एक स्थान जितेकोलाई राष्ट्रिय दलको मान्यता दिने प्रावधान अप्रजातान्त्रिक भएको पार्टीले ठहर गरेको छ।

परिषद्ले प्रजग कोरियाले अमेरिकी साम्राज्यवादको ६ दशक अगाडिदेखिको नाकाबन्दीलाई सामना गर्दै देशको सार्वभौमिकता एवं स्वाधीनता रक्षाका लागि हाइड्रोजन बमको सफल परीक्षण गरेको र ब्रम्हाण्डको अनुसन्धानका लागि भूउपग्रहको पटक–पटक सफल प्रक्षेपण गरेकोमा समर्थन गर्दै कोरियाली मजदुर पार्टी, प्रजग कोरियाको नेतृत्व र सम्पूर्ण कोरियाली जनतालाई बधाई ज्ञापन गरेको छ । मुख्यभूमि चीनलाई विभाजन गर्न संयुक्त राज्य अमेरिकासमेतको सहयोगमा भारतले दलाई लामालाई आश्रय दिई पूरै एसियाको शान्ति खल्बल्याउने गतिविधि गरेको उल्लेख गर्दै पार्टीले एक चीन नीतिलाई समर्थन गर्दै आएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्