जंगली हात्तीले एकलाई मार्यो ६ जना घाइते



दिनेश शर्मा, राजविराज
सप्तरीको हनुमाननगर बजारमा जंगली हात्तीको आक्रमणमा परी मंगलबार १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। हात्तीको आक्रमणबाट हनुमाननगर–४ का २५ वर्षीय रोशन झाको मृत्यु भएको हो।

पुरानो सदरमुकाम हनुमाननगर बजारमा बिहान एउटा जंगली हात्ती प्रवेश गरी आतंक मच्चाएको थियो। सो क्रममा हात्तीको आक्रमणमा परी हनुमाननगर बजारका सञ्जीव साह, नवीना खातुन, सञ्जय साफी, मो. इस्ताख, रोसन झा र वसन्त मण्डल घाइते भएका थिए।

घाइतेमध्ये सञ्जीव, रोशन र कालीचरणको अवस्था चिन्ताजनक भएपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा रोशनको उपचारकै क्रममा मृत्यु भएको सप्तरीका एसपी अनुराग द्विवेदीले जानकारी दिए। बाँकी घाइतेको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

उज्यालो भएपछि पसेको जंगली हात्तीले स्थानीयबासीलाई लखेटेर आक्रमण गरेको हो। प्रहरी र स्थानीयको सहयोगमा हात्तीलाई कोशी ब्यारेजतर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छ।

प्रतिक्रिया दिनुहोस्