बालविवाहविरुद्ध उत्रँदै बाल क्लबहरू



विमल विष्ट, डोटी
जगाउँमा विवाह हुँदै छ भन्ने सुन्ने बित्तिकै कालिकास्थान साउदकाँडाकी निर्मला साउदको ध्यान पूरै विवाह हुने घरतिर तानिन्छ। शुरुमा उनी दुलहादुलहीको उमेरको ख्याल गर्छिन्। दुवै जना २० वर्ष माथिल्लो उमेरका भए बधाई दिएर फर्कन्छिन् भने त्योभन्दा तलका भए गाउँमा उनको संघर्ष शुरु हुन्छ। उनी गाउँमा खोलिएको नवज्योति बाल क्लबकी सचिव हुन्। २१ सदस्यीय नवज्योति बाल क्लबले बालविवाह र घरेलु हिंसाविरुद्ध काम थालेको छ। केही गतिला काम गरेर जिल्लामा नाम पनि कमाइ सकेको छ। ‘सकभर गाउँमै बालविवाहको विरोध गरेर रोक्न लगाउँछौं’, बाल क्लब सचिव निर्मला साउदले भनिन्– ‘त्यति गरेर पनि विवाह हुन लागेमा प्रहरीलाई खबर गरेर पक्रन लगाउँछौं।’

गाउमै क्लबका अध्यक्ष रिजन नेपालीका काकाको छोरीको बालविवाह हुनलाग्दा प्रहरीको सहयोग लिएर क्लबले विवाह रोकेको थियो। गाउँबाट शुरु बालविवाहविरुद्धको अभियानअन्तर्गत नवज्योति क्लबले जिल्लाका अन्य ९ स्थानमा सडक नाटक प्रदर्शन गरिसकेको छ। ‘अब वैशाखमा बृहत् रूपमा बालविवाहविरुद्ध नाटक प्रदर्शन गर्ने तयारीमा छौं’, सचिव साउदले भनिन्– ‘शुरुमा यस अभियानमा लाग्दा गाउँबाट हामीलाई धम्की आयो, असुरक्षा पनि महसुस भयो, अहिले यसबारे धेरैले बुझ्नुभएको छ।’

प्रतिक्रिया दिनुहोस्