पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा



वासिङटन, २२ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञा गर्नुभएको छ ।

रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान जानेगरी सोमबार भएको विस्फोटनको घटनापछि उहाँले पूर्ण साथको प्रतिज्ञा गर्नुभएको हो ।

राष्ट्रपति ट्रम्पले घटनामा मृत्यु भएका सबैप्रति श्रद्धान्जलि व्यक्त गर्दै पीडित सबैप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।

घटनामा परी अन्य दर्जनाँै घाइते भएका छन् । रुसले सोमबारको आक्रमण नाटकिय आतङ्क भएको बताएको छ ।

सेन्ट पिटर्सवर्ग शहरमा तीन दिनको शोकको घोषणा गरिएको छ । सेन्ट पिटर्सवर्ग संसारकै व्यस्त भूमिगत रेल सेवाहरुमध्ये एक हो । दैनिक बीस लाखभन्दा बढी मानिसहरुले सो रेलसेवा प्रयोग गर्दछन् ।

“घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न अमेरिकी सरकारले आफ्नोतर्फबाट सहयोग गर्ने बचनबद्धता व्यक्त गर्दछ,” राष्ट्रपति ट्रम्पको कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई फोन गरेर दुःख व्यक्त गर्नुभएको पनि उल्लेख गरिएको छ ।

दुबै राष्ट्रपति आतङ्ककारीलाई तत्काल नाश गर्न सहमत भएको पनि विज्ञप्तीमा लेखिएको छ ।

कतिपय विषयमा आरोपप्रत्यारोप भई सम्वन्ध विग्रिरहेका बेला उहाँहरुले आतङ्ककारीहरु विरुद्ध लड्ने अठोट व्यक्त गर्नुभएको हो ।

रुसी राष्ट्रपति पुटिनले सोमबार साँझ नै घटनास्थलको भ्रमण गरी मृतकहरु प्रति श्रद्धान्जलि व्यक्त गर्नुभएको छ । रासस-एएफपी

प्रतिक्रिया दिनुहोस्