गोल्डकप विजेतालाई एक वर्षपछि सम्मान



हेटौंडा,(नेस) ।

सातौं सिमरा गोल्डकप प्रतियोगिताको उपाधि विजेता हेटौंडाको विजय युथ क्लबलाई मकवानपुर विकास सरोकार समूहले १ लाख रुपियाँसहित सम्मान गरेको छ ।

विजय युथ क्लबले उपाधि जितेको एक वर्षपछि भीमफेदीमा सम्मान गरिएको हो । ‘मकवानपुरको विकास, हाम्रो सरोकार’ भन्ने मूल उद्देश्यसाथ काठमाडौं र देशविदेशमा रहेका भीमफेदीका व्यवसायी र उद्यमीले ‘मकवानपुर विकास सरोकार समूह’ गठन गरेका हुन् ।

समूहले विजय युथ क्लबका पदाधिकारी, प्रशिक्षक, खेलाडीलाई सम्मानपत्र प्रदान गरेको थियो । समूहले भीमफेदी गाउँपालिकाको फुटबल टिमलाई फुटबल हस्तान्तरण गरेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले सम्मान गरेका थिए ।

विजयले मोफसलको सबभन्दा बढी नगद धनराशि पुरस्कार भएको सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । क्लबलाई उपाधि दिलाएसँगै हेटौंडा–५ का सुबिन घिमिरे खेलाडीबाट प्रशिक्षकका रुपमा बढुवा भएका छन् । अझ भनौं, सफल प्रशिक्षकको रुपमा । उनले उत्कृष्ट प्रशिक्षक घोषित भएर नगद १५ हजार पाएका थिए ।

२०५९ सालबाट ‘ए’ डिभिजन क्लबबाट व्यावसायिक फुटबल खेलका घिमिरेले २०६८ सालबाट व्यावसायिक फुटबलबाट सन्न्यास लिँदै प्रशिक्षक र कहिले खेलाडीको भूमिकामा देखापर्ने गरेका थिए । उनले तीन वर्षअगाडि हेटौंडा–५ स्थित क्याम्पाडाँडामा पिप्ले युथ एकेडेमी सञ्चालन गरेका छन् । उनको एकेडेमीमा हाल करिब करिब ७० जना युवा खेलाडी दैनिक प्रशिक्षण गर्छन् ।

विमल रानाको ह्याट्रिकप्रेरित हेटांैडाको विजय युथ क्लबले सातौं सिमरा गोल्डकपको उपाधि जितेको जित्दा हेटौंडामा खुशी छाएको थियो । यो प्र्रतियोगिताकै पहिलो ह्याट्रिक पनि थियो । रुपन्देही ११ लाई पराजित गर्दै हेटौंडाको विजय युथले सर्वाधिक नगद पुरस्कार राशिको फुटबल प्रतियोगिता पहिलोपटक जित्दै इतिहास रचेको हो ।

सिमरा रंगशालामा भएको फाइलन भिडन्तमा रुपन्देहीलाई ४–० गोलअन्तरले पराजित गर्दै हेटांैडाले पहिलो सहभागितामै उपाधि उचालेको हो । उपाधिसँगै हेटौंडाले पाँचलाख ५१ हजार नगद हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्