दुईपटक सर्किट ब्रेकले थाम्न सकेन



नेपाल समाचारपत्र
काठमाडौं
दुईपटक सर्किट ब्रेक लाग्ने गरी परिसूचक उचालिए पनि अन्ततः कारोबार बन्द हुने बेलासम्म सोमबार नेप्से सूचक ६ दशमलब ५९ अंकले तल ओरालो लाग्दा नेप्से १६६० दशमलब ५२ अंकमा पुगेको छ। बजार खुलेको १२ मिनेटमा तीन प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि चार⁄पाँच मिनेटमात्रै कारोबार भएको बजार ४ प्रतिशतले बढेपछि दोस्रोपटक सर्किट ब्रेक लागेको थियो। करिब १२ बजे खुलेको बजार बढेर १७४५ अंकसम्म पुगे पनि त्यसपछि भने निरन्तर आरालो लाग्दै नेप्से अघिल्लो दिनमा भन्दा पनि कम हुन पुगेको हो।

कारोबार शुरू भएको एक घण्टाभित्र ३ प्रतिशतले नेप्से घटबढ भएमा १५ मिनेटका लागि पहिलोपटक सर्किट ब्रेक लाग्दछ। त्यस्तै कारोबार शुरू भएको दुईभित्र ४ प्रतिशतले नेप्से घटबढ भएमा ३० मिनेटका लागि दोस्रो सर्किट ब्रेक लाग्दछ। ५ प्रतिशतले नेप्से घटबढ भएमा त्यस दिनका लागि कारोबार स्थगित गरिन्छ। सोमबार नाफा सुरक्षित गर्न बिक्री गर्नेको चाप बढेकाले अन्तिम समयमा नेप्सेमा गिरावट आएको बताइएको छ। समग्र बजार पुँजीकरण १८ खर्ब ९४ अर्ब रुपियाँ पुगेको दिन १४४ कम्पनीको ४३ लाख ३२ हजार ७४ कित्ता शेयर २ अर्ब ५३ करोडभन्दा बढीको कारोबार भएको छ। यस दिन नेपाल बैंकको १३ करोड ५४ लाख, एनसीसी बैंकको १३ करोड ४३ लाख र लुम्बिनी इन्स्योरेनसको १२ करोड ६९ लाख रुपियाँको शेयर कारोबार भएको भने राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १०, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, गुराँस लाइफ इस्योरेन्स, नमस्ते वित्तीय संस्था, गोर्खा फाइनान्स, युनाईटेड इन्स्योरेन्सलगायतका कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। सोमबार बीमा कम्पनीहरूको मात्रै एक अर्ब रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ।

त्यस्तै महिला सहयात्रा लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने स्वालम्बन विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिभिल बैंक, देवः विकास बैंक तथा नागबेली लघुवित्त कम्पनीलगायतका कम्पनीका लगानीकर्ताहरू धेरै गुमाउनेमा परेका छन्। बीमा समूह ६७ दशमलब ६५ अंक र व्यापार समूह १ दशमलब ४१ अंकले बढदा बैंकिङ समूह ७ दशमलब २८, होटेल समूह ३५ दशमलब ३९, विकास बैंक समूह १४ दशमलब शून्य ८, जलविद्युत् समूह २९ दशमलब ५२, वित्त समूह ८ दशमलब ८४ र अन्य समूह ५ दशमलब ५ अंकले घटेका छन्।
यसैबीच सोमबार नेप्सेमा ५ करोड ३६ लाख १४ हजार ९९५ दशमलब २६ कित्ता शेयर सूचीकृत भएको छ। सूचीकृत भएकामध्ये माछापुच्छ«े बैंकको मात्रै बोनस र हकप्रद गरी २ करोड ७३ लाख ४१ हजार ६ सय कित्ता शेयर सूचीकृत भएको छ। जसमा १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद तथा ८० लाख १८ हजार ९ सय कित्ता बोनस सेयर सूचीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस्