नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन



६४ पदमा १ सय १२ जनाको उम्मेदवारी, उम्मेदवार तानातान

दीपेन्द्र थापा, काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएको छ। महासंघको नयाँ नेतृत्वमा ६४ पदको लागि १ सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वरिष्ठ उपाध्यक्ष, एसोसिएट, वस्तुगत, जिल्ला तथा नगर उपाध्यक्ष, कार्यसमिति सदस्य र प्रदेश सदस्यमा १ सय १२ जनाको उम्मेदवारी परेको महासंघले जनाएको छ।

महासंघका अनुसार जिल्ला तथा नगरतर्फको १८ सदस्य पदमा २९ जना, वस्तुगततर्फको १४ सदस्य पदमा २७ जना, एसोसिएटतर्फको १९ सदस्य पदमा ३१ जना, द्विराष्ट्रियतर्फको १ सदस्य पदमा १ जनाको उम्मेदवारी परेको छ भने ७ वटा प्रदेशको ७ सदस्य पदमा १५ जनाको उम्मेदवारी परेको छ। तर, एसोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, प्रदेश नम्बर ३ बाट कमलकुमार श्रेष्ठ, प्रदेश नम्बर ५ बाट भीमबहादुर थापा, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट अजय मुडभरी र उद्योग वाणिज्य संघको संस्थापक सदस्यमा अविनास बोहरा, निर्विरोध निर्वाचित भएका छन्। निर्वारोध भएका पाँचै जना गोल्छा समूहको भएको दाबी गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघबाट कार्यकारी सदस्यमा उम्मेदवारी दिएका महेशलाल प्रधान, राजेन्द्र श्रेष्ठ, नरेशलाल श्रेष्ठ र प्रकाशसिंह कार्कीले आफूहरू शेखर गोल्छा समूहमा रहेको स्पष्ट पारेका छन्। पत्रकार सम्मेलन गरी गोल्छा समूहमै रहेको प्रधानले दाबी गरेका हुन्। उता वरिष्ठ उपाध्यक्षमा किशोरकुमार प्रधानले सोमबार उम्मेदवारी दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्