साइपाललाई काष्ठमण्डप कप



काठमाडौं, (नेस)
साइपाल एकेडेमीले प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय छात्र फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ।

काष्ठमण्डप विद्यालयको आयोजनामा मण्डिखाटारमा भएको फाइनलमा साइपालले काठमाडौं जेभियरलाई ९–१ गोलले पराजित गर्यो। विजयी टिमका लागि निशान माझीले ५, अकोश तामाङले २ तथा मुकेश तामाङ र इङ्लाहाङ लिम्बुले १–१ गोल गरे।

विभिन्न तीन विधागत उत्कृष्टको पुरस्कार पनि साइपालकै खेलाडीले हात पारे। अशोक तामाङ उत्कृष्ट खेलाडी तथा अविनाश बमजन उत्कृष्ट गोलरक्षक चुनिए। प्रतियोगिता अवधिभर १२ गोल गरे निशान माझी सर्वाधिक गोलकर्ता बने। विजेतालाई तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक एवं वरिष्ठ फुटबल प्रशिक्षक विराटकृष्ण श्रेष्ठ, काष्ठमण्डपकी प्रिन्सिपल डा. शिवा थापालगायतले पुरस्कार वितरण गरे।

प्रतिक्रिया दिनुहोस्