स्वच्छ र स्वस्थ पर्यावरण काठमाडौंको आवश्यकता



चन्द्रप्रसाद श्रेष्ठ
कामको सिलसिला होस् वा केन्द्रीकृत संरचना, सपनाको शहर काठमाडौंमा आउनै पर्ने बाध्यता रहेको छ। अहिले राजधानी टेक्नासाथ, यो काठमाडौं सुन्दर नेपालकै भाग हो र ? जस्तो लाग्न सक्छ। कारण एउटै छ, काठमाडौंको बाटोले धान्न नसक्ने अधिकतम संख्यामा रहेका सवारीसाधन। यिनै सवारीसाधनबाट निष्कासित धुवाँ अनि धुलोले सुन्दर उपत्यकाको मनोरम दृश्यलाई फिका पारिरहेको छ। १८८ देशमध्ये नेपाल १५८औं स्वस्थ देशमा पर्दछ अर्थात् सामान्य भाषामा भन्दा नेपाल अस्वस्थ देशको सूचीमा अब्बल देखिएको छ। त्यसमा पनि बढी काठमाडौंको अस्वस्थ र अस्वच्छ पर्यावरणले देशलाई नै कुरूप बनाउँदै गइरहेको छ। यहाँ मानिसको जीवनभन्दा पनि निर्जीव वस्तु मूल्यवान् देखिएका छन्। हुन त सबै निर्जीव वस्तु बहुमूल्य हुँदैनन्, तर यिनै मध्ये एकको सही र लगातार प्रयोगले मानवजीवनलाई अमूल्य बनाइदिन सक्छ। चिकित्सा शास्त्रीय अध्ययनअनुरूप साइकलको दैनिक प्रयोगले मानिसको शरीरलाई स्वस्थ राख्नुको साथै स्फूर्त बनाउँछ। कम लगानीमा बढी फाइदाजनक व्यायाम साइकललाई मानिएको छ।

सानो भए तापनि हौसला ठूलो राख्ने देशको राजधानीमा दिनहुँ दुर्घटनाको संख्या बढ्दै छ। उच्च गति र सही समयमा गति नियन्त्रणको अभावमा प्रायः दुर्घटनाका कारण ज्यान गुमाउने र अंगभंगको समाचार सामान्य भइसकेका छन्।

विचारकहरूले पनि दुर्घटनाको संख्यामा कमी ल्याउन पाँचतारे होटलहरूमा सेमिनार, गोष्ठी नगरेका पनि होइनन् तर विचार सार्वजनिक गर्नुभन्दा पनि निजीकरण गर्नुलाई नै प्राथमिकता प्रदान गरेको पाइन्छ। राम्रो वा नराम्रो जे कुराको लागि पनि सरकारको मुख ताक्ने बानीले नेपाली जनतासमेत कर्तव्यहीन भइसकेका छन्। राम्रो बानी बसाल्नको लागि सरकारलाई भन्दा पनि आफू जिम्मेवार भई मृत्युदरमा कमी ल्याउने र स्वस्थ वातावरणमा आयु दरमा वृद्धि हुँदै जाने वातावरणको सिर्जनायुक्त निर्णयमा ठोस कदम उठाउनु कसैको लक्ष्य देखिँदैन। काठमाडौंमा बस्ने हरेकको घरमा बाइक वा कार राख्नै पर्ने चलनले गर्दा राजधानीवासीलाई आर्थिक, वातावरणीय, शारीरिक वा मानसिक तनावसमेत झेल्नुपरिरहेको छ। सानोभन्दा सानो कामको लागि, लगातार मोटरको प्रयोगले सम्पूर्ण नगरवासीलाई अस्वस्थ बनाउँदै गइरहेको छ। यहाँको असन्तुलित खानपिनका कारण प्रायः सबै व्यक्तिमा विभिन्न प्रकारका शारीरिक तथा मानसिक रोगले ग्रसित बनाइसकेको अनुमान गर्न सकिन्छ।

नियमित तथा सन्तुलित साइकलको प्रयोगले रक्तचापमा सन्तुलन, मुटु–व्यथाजस्ता समस्याबाट समाधान र छुटकारा गराउनुको साथै मुटुको धड्कन सामान्य राख्दछ। मधुमेहका बिरामीलाई फाइदा गर्दछ। रोगमा कमी र सुधार ल्याउँछ। मानसिक तनाव घटाउन मद्दत गर्दछ। शरीरको सहनशीलतामा वृद्धि गर्दछ। कुनै पनि खेलाडीलाई स्फूर्त बनाउँछ। अनुहारमा चमक बनाई जवानको अनुभूति कायम राख्न सहयोग पुयरउँछ। मीठो निद्राको अनुभूति गराउँछ। खेलकुदमा पनि क्रिकेट, फुटबलले सबैको ध्यान सजिलै तान्न सकेको छ, तर अधिक फाइदाजनक खेल तथा दैनिक कार्यमा उपयोग हुन सक्ने साइकलमा कसैको चासो पुग्न सकेको छैन। साइकलको नियमित प्रयोगबाट हुन आउने वास्तविक फाइदाको सूची बनाई, यस व्यायामको विषयलाई तार्किकरूपमा परिभाषित गरेर पाठ्यक्रममा सामेल गर्न दबाबमूलक कार्य अहिलेको आवश्यकता भइसकेको छ।

तुलनात्मकरूपमा विचार गर्दा, हामी सवेरै एक–दुई घण्टा योग साधनामा व्यस्त भए पनि पुनः बाँकी समय धुवाँ–धूलो र कार्बन अक्साइडसहितको गाडीको पछि दौडिन्छौं। त्यो सवारीसाधन जसले वातावरण प्रदूषण बनाउनुको साथै हामीलाई समेत बिरामी बनाउँछ र योग साधनाको कार्यसमेत निष्फल तुल्याइदिन्छ।

विशेषतः बाहिरी विकसित मुलुकहरूले साइकल वा अन्य सवारीसाधनको प्रयोगबाट हुने फाइदा र नोक्सान सम्बन्धित समिति बनाई सोको नतिजासमेत सार्वजनिक गर्दै आएका छन्। साइकल प्रयोगको प्रभावकारितालाई उच्च स्थानमा राख्दै, मोटरगाडीको प्रयोग विशेष अवसर वा लामो दूरीको यात्राको लागि मात्र हुने तर्क दिई साइकलको प्रयोगलाई दैनिकीमा ल्याएका छन्। साइकलको महत्व बुझेर नै होला, कतिपय उच्च ओहदाका व्यक्तिहरूले पनि साइकललाई आफ्नो सरकारी कामकाज तथा अन्य दिनचर्याको कामकाजमा प्रयोग गर्दै आएका छन्।

स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हक रहेको छ तर सो हकको संरक्षण गर्ने कर्तव्य कसैले आत्मसात् गरिसकेको छैन। दैनिक मोटरगाडीको प्रयोगले भन्दा पनि साइकलको सवारीले मानवशरीरलाई सन्तुलनमा ल्याउनुको साथै मोटोपन घटाउनसमेत योग्दान गर्नेछ। अधिक मोटापनका कारण हुन सक्ने मुटु–व्यथा, मधुमेह रोग, मानसिक तनाव, सास फेर्ने समस्या, यौन र निद्राको समस्या तथा अन्य बिमारीलाई निर्मूल पार्न साइकलको सवारी नै अचुक उपचार मान्नुपर्ने स्थिति छ। दिनहुँ स्वस्थ र निरोगी हुन साइकलको प्रयोग नै उचित एवं उत्तम उपाय हो, जसका लागि सरकारले समयसापेक्ष कानुनको सुनिश्चितता गर्नुपर्छ। जनताले पनि यस्ता कार्यलाई स्वागत गर्नुपर्दछ। स्कुल, कार्यालय एवं सानो दूरीको यात्राका लागि सबैले साइकलको प्रयोगमा जोड दिनुपर्ने देखिन्छ। वास्तवमा पर्यावरण संरक्षण आज विश्वको चासो भइसकेको छ, एकमात्रको प्रयासबाट शायदै केही परिवर्तन आउला, तसर्थ व्यक्तिगत वा सामाजिक दृष्टिकोणले नेपाललाई स्वच्छ, हराभरा तथा स्वस्थ बनाउने कर्तव्य हामी नेपाली जनता र नेपाल सरकारकै हुन जान्छ।

प्रतिक्रिया दिनुहोस्